पोखरामा पत्रकार महासंघको केन्द्रीय साधारणसभा

नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा तथा विधान अधिवेशन पोखरामा सुरु भएको छ । महासंघलाई प्रत्यक्ष निर्वाचनमा लैजानका लागि भएको विधान अधिवेशन बिहीबारदेखी पोखरामा सुरु भएको हो । 

आजसम्म हुने अधिवेशन बिहीबार सभामुख कृष्णबहादुर महराले उद्घाटन गरेका थिए । उद्घाटन सत्रलाई सम्बोधन सभामुख महराले पत्रकार समाज रूपान्तरणको उत्प्रेरक भएको बताए । 

‘समाजलाई सकारात्मक रूपान्तरणमा पत्रकारले सधैं उत्प्रेरकको भूमिका खेल्नुपर्छ,’ उनले भने, ‘पत्रकारले सकारात्मक भूमिका खेले सकारात्मक हुन्छ, नकारात्मक भूमिका खेले नकारात्मक हुन्छ ।’ उनले सरकार अराजकताविरुद्ध लडिरहेको उल्लेख गर्दै समाज बदल्ने कुरामा अग्रगामी हुनुपर्नेमा जोड दिए । 

कार्यक्रममा बोल्दै सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले स्वतन्त्रताको कुनै सीमा नहुने बताए । प्रेस स्वतन्त्रताका लागि सरकार सधैं सकारात्मक रहेको बताउँदै उनले भने, ‘स्वतन्त्रताको कुनै सीमा हुँदैन, तर मर्यादा भने हुन्छ ।’ मन्त्री बास्कोटाले पत्रकारको पेन्सन कोषमा ५ करोड ३४ लाख पुगेको समेत जानकारी दिए । उनले अनलाइन, रेडियो, पत्रिकालगायत सबैलाई समेट्ने समानुपातिक विज्ञापन नीति बनाएर कडाइका साथ लागू गर्ने पनि आश्वासन दिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकार प्रेस स्वतन्त्रतामा प्रतिबद्ध भएको बताए । उनले भने, ‘प्रेस स्वतन्त्रता गुम्न लाग्यो भन्ने कुरा हौवा मात्र हो, सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ ।’ मन्त्री अधिकारीले प्रेस सधैं प्रतिपक्ष नै भए पनि रचनात्मक हुन सुझाव दिए ।

नेकपाका नेता योगेश भट्टराईले नेकपा सधैं प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए । उनले भने, ‘नेकपा सधैं प्रेस स्वतन्त्रताको पक्षमा छ, सूचना लुकाउने वा सञ्चारलाई प्रतिबन्ध लगाउने पार्टी नेपाल कम्युनिष्ट पार्टी हुनै सक्दैन ।’ 

नेपाली कांग्रेसका आमन्त्रित सदस्य तथा पूर्वसामाजिक विकासमन्त्री कुमार खड्काले दुई तिहाइको दम्भले सबैलाई थर्काइरहेको आरोप लगाए । उनले भने, ‘सरकार दुई तिहाइको दम्भले सबैलाई थर्काउँदै हिँड्छ, अख्तियार र सर्वोच्च अदालतका प्रमुखलाई पनि महाअभियोग लगाउने डर र धम्की दिएर जे भन्यो त्यही गर्ने बनाउने कोसिस गरिरहेको छ ।’ उनले प्रदेशलाई अलग्याएर संघ र स्थानिय तह नबाँच्ने भन्दै संघ, प्रदेश र स्थानिय तहलाई सरोबर अधिकार दिएर काम गर्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरु डा.सुरेश चालिसे, शिव गाउँले, डा. महेन्द्र विष्टलगायतले प्रेस स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको हक, हित र अधिकार सम्झौतारहित मुद्धा भएको बताए । उनीहरूले पत्रकारितालाई राजनीतिक रूपमा भन्दा पनि व्यवसायी रूपमा लैजानुपर्नेमा जोड दिए ।

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले प्रेसको शिरमाथि तरवार राखेर समृद्धि नआउने टिप्पणी गरे । समाचार लेख्नै नपाउने, बोल्नै नपाउने, फोटो खिच्नै नपाउने अवस्था आएको बताउँदै उनले भने, ‘सुन काण्डको समाचार लेख्दा सरकारदेखि डर लाग्छ, निर्मला पन्तको समाचार लेख्दा पनि सरकारदेखि डर लाग्छ ।’

शुक्रबारसम्म चल्ने महासंघको साधारणसभाले महासंघको विधान परिवर्तन गरी प्रत्यक्ष निर्वाचन प्रणालीमा लैजानेछ । साधारणसभामा देशभरका एक हजार बढी पत्रकारको सहभागी छन् ।