फ्रान्सका स्कुलमा अब ‘बुवाआमा’ भन्न नपाइने

एजेन्सी– फ्रान्सको स्कुलमा अब छिटै ‘आमा’ र ‘बुवा’ जस्ता शब्दको प्रयोग बन्द हुने भएको छ । यसको सट्टा अभिभावकको पहिचाका लागि बालबालिकाले उनीहरुलाई प्यारेन्ट १, प्यारेन्ट २ भन्नु पर्नेछ । 

लैंगिक विभेद कम गर्ने सरकारको यो नीति प्रस्ताव संसदबाट पनि पारित भएको छ । सरकारका अनुसार बच्चालाई सुरुवातमा परिवारको विविधताप्रति सम्मान बढाउन यस्तो नियम बनाइएको हो । 

राष्ट्रपति इमानुएल म्याक्रोनका पार्टीका एक सांसदले प्रस्तावका बारेमा बोल्दै भने ‘स्कुलको कुनै पनि दस्तावेजमा अभिभावकको लिंगमा अन्तर हुने गरी लेखिँदैन् । यसमा प्यारेन्ट १ र प्यारेन्ट २ लेखिनेछ ।’ 

कतिपय पार्टीले सरकारको यो कदमको समर्थन गरेका छन् । सोसलिस्ट पार्टीका सांसद जोआकिम पुयोटले यसको तारिफ गर्दै यो अभिभावकको सम्मानका लागि भएको बताएका छन् । 

विपक्षी पार्टीका नेताले सरकारको यो नीतिको विरोध गरेका छन् । ‘देशमा ९५ प्रतिशत अभिभावक महिला–पुरुष छन्, यो नियम तर्कसंगत छैन्, बालबच्चाको विचारधारालाई जबरजस्ती परिवर्तन गर्न खोजिएको छ,’ विपक्षी पार्टीले टिप्पणी गरेका छन् ।

एएफडिएच संस्थाले यसबाट हुने परिवर्तनले अभिभावकमा एक–अर्काप्रति दुर्भावना भड्किने सक्ने बताएको छ । बच्चाका प्यारेन्ट १ र प्यारेन्ट २ क–कसलाई बनाउने भन्ने नै जटिल छ, यसले बच्चाको मानसिकतामा झन् उल्टो असर पर्न सक्छ ।