बुझौं साराले
देश उभो लाग्दैन यस्तो पाराले
बाहिर , बाहिर सुशासन र समृध्दिको बोक्रो
भित्र , भित्रै भ्रष्टाचारले देश बनायो खोक्रो
कर्णालीमा तिहुन खान नुन, तेल छैन अरे
काठमाडौंले पानीजहाज ल्याउँछु भन्छ हरे !
कति सरकार आए, गए मेलम्ची आएन
राजधानीले अझै पानी खान पाएन
आलु, प्याज किन्नै गाह्रो के साह्रो भाउ बढ्यो
हेर्दाहेर्दै महङ्गीले सगरमाथा चढ्यो
कार्यकर्ता नेतालाई सँधै काँधमा बोक्छन्
फलामलाई सुन भनेपनि तालीमात्र ठोक्छन्
देश बदल्ने होईनन् कोही भाषण मात्रै ठूला
यो आए नि, त्यो आए नि एउटै ड्याङका मुला !




