शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले २०७५ सालभित्रै स्ववियु निर्वाचन गरिसक्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल पत्रकार महासंघ प्युठान जिल्ला शाखाले आज नयाँबजार जुम्रीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले नयाँ शैक्षिक वर्षका लागि कार्यतालिकामा सुधार गर्न सरकार लागिएकाले यही शैक्षिक वर्षभित्रै स्ववियु निर्वाचन गरेर आगामी शैक्षिक वर्ष सुधार वर्षको रूपमा अघि बढ्नुपर्ने बताएका हुन् ।
सो कार्यक्रममा ऐन, नीतिनियम निर्माणका साथैे समाजवाद उन्मुख शिक्षा प्रणाली बनाइने उनको भनाइ थियो । केही नीति पारित भएको केही निर्माणको क्रममा रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले शिक्षा क्षेत्रको विकासमा संघ, प्रदेश र स्थानीय सरकारको पनि साझा जिम्मेवारी भएको बताए ।
नेपालमा २०४६÷४७ को जनआन्दोलनपछि शिक्षा प्रणालीमा व्यापारीकरण भएकाले यसको सुधारका लागि सरकार प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय शिक्षा आयोग गठनको तयारीमा रहेको उनले बताए ।
शिक्षालाई श्रम, श्रमलाई सीप, सीपलाई उत्पादन र उत्पादनलाई समृद्धिसँग जोड्न सरकार समाजवाद उन्मुख शिक्षा नीति निर्माणका साथै ८ कक्षासम्मको परीक्षा स्थानीय तह, एसइई प्रदेश र १२ कक्षाको परीक्षा संघीय सरकारले लिने गरी व्यवस्था गर्न खोजिएको मन्त्री पोखरेलको भनाइ थियो ।




