पोर्टर गाइड तालिम सुरु

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको आयोजना ,नेपाल पर्यटन बोर्डको प्रबद्र्धन तथा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा ६१ घन्टे ट्रेकिङ पोर्टर गाइड तालिम सुरु भएको छ ।

जनप्रिय माविमा सोमबारबाट सुरु भएको तालिमको नेपाल पर्यटन बोर्ड,गण्डकी प्रदेश निर्देशक मणिराज लामिछानेले उद्घाटन गरेका थिए ।

निर्देशक लामिछानेले संघीय सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२०सफल पार्न यस्ता तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले भ्रमण वर्ष २०२० लाई आवश्यक पर्ने १० लाख दक्ष जनशक्ति उत्पादन गर्न तालिम कोशेढुंगा साबित हुने बताए ।

टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष हरि भुजेलले सन् २०२० मा २५ लाख पर्यटक भित्रयाउने उद्घोष गरेसँगै संघले पदयात्रा मजदुरलाई लक्षित गरी पोखरामा नै पहिलो पटक पोर्टर गाइड तालिम सञ्चालन गरेको जानकारी दिए ।

पर्यटन क्षेत्रका सम्पूर्ण संघ संस्थाको प्रतिनिधित्व गर्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले भ्रमण वर्ष सफल पार्न सहयोग गर्ने भएकाले तालिमबाट लाभ लिन सहभागीलाई आग्रह गरे ।

टान पश्चिमाञ्चल क्षेत्रीय संघ कार्यसमिति सदस्य एवं तालिम संयोजक प्रकाश बस्ताकोटीले पोखरामा पहिलो पटक तालिम सञ्चालन गर्न पाउँदा गौरव महसुस भएको बताउँदै लामो समयदेखि पदयात्रा पर्यटनमा ज्ञान, अनुभवले खारिएका तर कानुनी कागजपत्रको अभावमा पदयात्रा पर्यटनमा गाइड सरह काम गर्न नसकेकालाई लक्षित गरी तालिम ल्याइएको उल्लेख गरे ।

टान पश्चिमाञ्चल क्षेत्रीय संघका सचिव जीवनराज सापकोटाले तालिममा २ सय २० जना सहभागी भएको भन्दै सबै प्रशिक्षार्थीमा नेपालमै केही गरौं भन्ने भावना भएकाले दक्ष जनशक्ति उत्पादन बताए ।