गैरआवासीय नेपाली एशोसियसन (एनआरएन)का पूर्व अध्यक्ष शेष घलेले घलेले शिक्षा व्यवसाय नभएर सेवा भएको बताए । उनले नेपाली विद्यार्थीको अध्ययनका लागि विश्वव्यापी पहँुच रहेको उल्लेख गरे । तमु सांस्कृतिक प्रतिष्ठान नेपाल र सांच समूहले सोमबार आयोजना गरेको प्रेरणात्मक प्रवचनमा घलले नेपाली विद्यार्थीलाई विदेशमा अध्ययनका लागि विश्वव्यापी पद्धतिले साथ दिएको बताए ।
विश्वव्यापी रुपमा शिक्षा प्रणालीमा सुधार भएको औंल्याउदै घलेले नेपालका विद्यार्थीले आफूलाई त्यही अनुसार रुपान्तरण गर्नुपर्ने सुझाव दिए । ‘अहिले प्रविधिको विकाससँगै अनलाइनबाट शिक्षा आर्जन गर्न सकिन्छ । मोबाइल डिभाइसबाट पढ्ने प्रविधिको विकास भएको छ,’ घलेले भने, ‘स्थानीय, प्रदेश र संघीय सरकारले कस्तो नीति तथा कानुन बनाउला भनेर कुरेर बस्ने होइन । प्रविधिको ज्ञान, दिल दिमाग लगाएर शिक्षाको अभ्यास र प्रयोग गर्नु आवश्यक छ ।’
अस्ट्रेलियाको मेलवर्न इस्टिच्युट टेक्नोलोजीका संस्थापकसमेत रहेका घलेले नेपाली विद्यार्थीले आफूलाई समय परिस्थिति अनुसार अनुकूलन गर्दै सिक्न खोज्ने प्रणाली विकास गर्न सुझाव दिए । अवसरको लागि एक व्यक्ति अर्को मुलुकमा जाने तथा बसाइँसराइँ गर्ने प्रणाली प्राकृतिक प्रक्रिया रहेको उल्लेख गर्दै घलले अिहिले ४० लाख विद्यार्थी पढ्नका लागि अर्को मुलुक जाने तथ्यांक पेश गरे ।
अबको ४ वर्षमा अध्ययनका लागि ८० लाख विद्यार्थी अर्को मुलुक जाने दावी गर्दै उनले आगामी १५÷२० वर्षमा विश्वको शिक्षा प्रणाली कस्तो हुन्छ भन्नेमा अहिल्यै अनुमान गर्न नसकिने उल्लेख गरे ।
आफ्नो जीवनका हरेक सफलताका ५० प्रतिशत योगदान श्रीमती जमुना घलेको रहेको उनले उल्लेख गरे । पर्यटनविद् कर्ण शाक्यले अध्ययन र अवसरका लागि जुनसुकै मुलुकमा गए पनि स्वदेशमै फर्केर सेवा गर्न विद्यार्थीलाई आग्रह गरे ।
नेपाल सम्भावना र सम्भव भएको मुलुक भएको उल्लेख गर्दै उनले १० वर्षपछि नेपाल बन्ने घोषणा गरे । आगामी १० वर्षमा विदेशमा बस्ने सबै नेपाली नेपाल फर्कने दावी गर्दै उनले जहाँ जुन मुलुक गए पनि धर्म, संस्कृति र परिवार नेपालीका लागि रुखको जराजस्तै भएको तर्क गरे ।
कार्यक्रममा एनआरएनका पूर्व अध्यक्ष घलेले २० जना जेहेन्दार विद्यार्थीको छात्रवृतिको लागि तमु सांस्कृतिक प्रतिष्ठान नेपाललाई २३ लाख ७५ हजारको चेक हस्तान्तरण गरे । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष चिजकाजी गुरुङ, सोच समूहका अन्तिम गुरुङ, स्नेहा गुरुङ, कृति बराल, सुदर्शन पौडेल लगायतले बोलेका थिए ।




