बर्सेनि ३ हजार कुष्ठरोगका बिरामी थपिँदै

सरकारले कुष्ठरोग निवारणको घोषणा गरेको एक दशक बित्न लागे पनि बर्सेनि यो रोगका तीन हजार नयाँ बिरामी फेला परिरहेका छन् । कुष्ठरोगको किटाणु शरीरमा प्रवेश गरेपछि पनि दाग नदेखिँदा रोगले हातखुट्टालगायतका अंगमा असर गरेपछि मात्रै बिरामी उपचारका लागि स्वास्थ्य संस्था पुग्ने गरेका छन् । 

कुष्ठरोग लाग्नासाथ अधिकांशमा सुरुमा रातो वा फुस्रो रंगको दाग र गिर्खा देखिने लगायतका लक्षण देखिए पनि थोरैमा यो लक्षण नदेखिँदा बिरामी ढिलो मात्र उपचारका लागि पुग्ने लेलेस्थित आनन्दवन अस्पतालले जनाएको छ । अस्पतालमा कार्यरत कुष्ठरोग विशेषज्ञ डा. महेश साहका अनुसार कतिपय व्यक्तिमा रोग लागेपछि बिस्तारै नसा फुल्दै जान्छ । ती व्यक्ति स्वास्थ्य संस्थामा जाँदा पहिले नसारोगको नै उपचार हुने उनले बताए ।

कुष्ठरोगको उपचारका लागि अस्पताल आउने बिरामीमध्ये झण्डै १० प्रतिशतमा दाग नदेखिने गरेको डा. साहले बताए । उनका अनुसार रोगको किटाणु शरीरमा प्रवेश गरेरसमेत दाग नदेखिनु चुनौतीका रूपमा रहेको छ । उनले भने, ‘किटाणु फैलिएर बिरामी अंगभंग भएपछि मात्र बिरामी उपचारका लागि आइपुग्छन् ।’ 

कुष्ठरोगको किटाणु शरीरमा प्रवेश गरेपछि दाग देखिनेसँगै अनुहारको छाला र कानको लोती बाक्लो र चम्किलो देखिने, आँखीभौ पहिले पातलो हुँदै झर्न थाल्ने अस्पतालले जनाएको छ । बिरामीमा विस्तारै हातखुट्टा लत्रने, शरीरमा नदुख्ने घाउ देखा पर्ने हुँदै अन्तमा बिरामी सामान्य कामसमेत गर्न नसक्ने हुने डा साहले बताए ।