काठमाडौंमै ग्याँस निकाल्ने प्रक्रिया सुरु

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले तीनकुनेबाट ग्यास उत्खननका लागि प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालय, काठमाण्डुबाट जग्गा प्राप्तिको कामलाई अघि बढाइएको जानकारी दिए ।

शुक्रबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले काठमाण्डु उपत्यकाको विभिन्न १४ स्थानमा ग्यासको सम्भाव्यता खानी तथा भूगर्भ विभाग र जाइकाको सहयोगमा अध्ययन गरेपछि सरकारले तीनकुनेबाट भने त्यसको उत्खनन् कार्यलाई अघि बढाउन लागेको बताए ।

मन्त्री यादवले नवलपरासीको धौवादी क्षेत्रमा फलाम खानी रहेको पुष्टि भएको उल्लेख गर्दै त्यो फलाम खानी उत्खननको काम पनि सुरु गर्ने योजना अघि सारे । त्यस क्षेत्रबाट पठाइएको नमूना चीन सरकारले परिक्षण गरेपछि त्यहाँ फलाम खानी रहेको पुष्टि भएको मन्त्री यादवको भनाइ छ ।