एकान्तकुनामा प्रधानमन्त्री ओलीद्वारा ‘पानीजहाज’ कार्यालय उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) पानीजहाज कार्यालयको उद्घाटन गरेका छन् ।

बिहीबार बिहान आयोजित एक समारोहबीच प्रधानमन्त्री ओलीले एकान्तकुनामा स्थापना गरिएको कार्यालय उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै भौतिक योजना तथा पूर्वाधार मन्त्री रघुवीर महासेठले प्रधानमन्त्रीको निर्देशनमा कार्यालय स्थापना गरिएको र छिट्टै राष्ट्रिय झण्डा राखेर पानीजहाज कुदाउने दावी गरे ।

सडक र हवाईभन्दा जलमार्गबाट सामान ढुवानी गर्न वातावरणीय दृष्टिले उपयुक्त हुने बताउँदै उनले नेपाल जस्तो भूपरिवेष्ठित देशका लागि यो पानीहाज चल्नु गौरवको विषय भएको बताए ।

उनले विगतमा प्रधानमन्त्रीले पानी जहाजको कुरा गर्दा खाल्डोमा कागजको जहाज बनाएर उल्लाइएको प्रसङ्ग कोट्याउँदै भने, ‘मानिसले असम्भव देखेको कुरा अहिले ओली सरकारले सम्भव गराइरहेको छ ।’ कार्यक्रममा प्रधानमन्त्री ओलीले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले गत वर्ष फागुनमा भारत भ्रमणबाट फर्किए लगत्तै यातायात र उद्योग मन्त्रालयका अधिकारीसँग पानीजहाज सञ्चालनबारे छलफल गरेका थिए । सो छलफलमा उनले पानीजहाज सञ्चालनसम्बन्धी विस्तृत योजना बनाउन निर्देशन दिएका थिए । महत्वाकांक्षी मानिएको पानी जहाज चलाउने योजनालाई सफल बनाउन सरकारले छिमेकी मुलुक भारतसँग गत साउन महिनामा पहिलो पटक छलफल गरेको थियो ।

भारतको अन्तरदेशीय जलमार्गसँग नेपालको जलमार्गलाई जोड्ने गरी हाल गृहकार्य अगाडि बढाइसकेको छ । भारतको अन्तरदेशीय जलमार्ग प्राधिकरणले गंगा नदीको हल्दीपुरसम्म पानीजहाज चलाउन पूर्वाधार बनाउने काम शुरु गरिसकेको कार्यक्रममा जानकारी गराइएको छ ।

हल्दीपुर नेपालको सीमाबाट करिब २७५ किलोमिटर टाढा पर्दछ । नेपालले पनि नारायणी नदीमा केन्द्रित भएर पानी जहाज चलाउने योजना बनाइरहेको छ । त्यसको स्थलगत र सम्भाव्यता अध्ययन गर्न भारतको जल प्राधिकरणका अधिकारीहरु यही फागुन १९ गते नेपाल आउने तयारीमा छन् ।