मेक्सिको सीमामा पर्खाल लगाउने अभियानमा ट्रम्प

आप्रवासीहरुप्रति आक्रमक बनिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लामो समयदेखि मेक्सिकोको सिमानामा पर्खाल लगाउने अभियानमा निरन्तर लागि परेका छन् ।

मेक्सिको लगायतका देशहरुबढि आप्रवासी बढि भित्रिएपछि उनले यसबारेमा संसदमा पनि प्रस्ताव राखेका थिए । उनको प्रस्तावमा धेरैले असन्तुष्टी जनाएका थिए तथापी उनले यो अडान भने कायमै राखेका थिए । उनले पर्खाल बनाउनका लागि बजेट बिनियोजन नहुन्जेलसम्म संघीय कार्यालयमा कामकाज नै ठप्प पार्ने चेतावनी दिएका थिए ।

यसैबीच मेक्सिकोको सिमानामा पर्खाल लगाउने कुरामा ट्रम्प र सांसदबीच केही बुँदामा सहमति भएको छ। सोमबार रात भएको उक्त सम्झौताअन्तर्गत सिमानामा पर्खाल बनाउन १ अर्ब ४० करोड अमेरिकी डलर बजेट विनियोजन गरिने भएको छ।

ट्रम्प आफनो प्रस्तावबाट पछि नहटेपछि विपक्षी सांसद सहमत पनि सहमत भएका हुन् । यसअघि ३५ दिनसम्म रकम अभावले अमेरिकी संघीय निकायहरू बन्द भएका थिए। अमेरिकी इतिहासकै सबैभन्दा लामो खर्चबन्दीका कारण अमेरिकी अर्थतन्त्रमा ११ अर्ब डलर घाटा भएको अनुमान छ।

पर्खालका लागि राष्ट्रपति ट्रम्पले ५ अर्ब ७० करोड डलर छुट्याउनुपर्ने माग गर्दै आएका थिए। त्यसको अनुपातमा उक्त रकम निकै कम हो।

विनियोजन गरिएको रकमबाट ५५ माइल लामो पर्खाल लगाउन पुग्नेछ।उक्त पर्खाल स्टिलको हुने बताइएको छ। ट्रम्पले भने कंक्रिटको पर्खाल लगाइने बताउँदै आएका थिए। ह्वाइट हाउसले डिसेम्बरमा २१५ माइल लामो पर्खाल बनाउने बताउँदै आएको थियो। सोमवार छुट्याइएको रकमबाट टेक्ससको रियो ग्रान्ड उपत्यकामा पर्खाल बनाइनेछ।