यातायात व्यवसायीले आफूखुसी बढाएको ब्याज नतिर्ने

गण्डकी धौलागिरी अञ्चल सार्वजनिक यातायात व्यवसायी समन्वय समिति पोखराले बैंक तथा वित्तीय संस्थाले आफूखुसी बढाएको ब्याज नतिर्ने चेतावनी दिएका छन् ।

समितिले मंगलबार पोखरामा पत्रकार सम्मेलन गर्दै बैंक तथा वित्तीय संस्थाहरुले मनोमानी रुपमा एकतर्फी ब्याज बढाएको र पटकपटक आग्रह गर्दापनि ब्याजदर नघटाएकाले बढेको ब्याज नतिर्ने चेतावनी दिएका हुन् ।

ब्याजदर बढ्दा समग्र यातायात क्षेत्र प्रभावित भएको बताउँदै गण्डकी धौलागिरी अञ्चल सार्वजनिक यातायात व्यवसायी समन्वय समिति पोखराका अध्यक्ष केदार पौडेलले तत्काल ब्याजदर घटाउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरे । उनले भने, ‘हामी भद्र रुपमा ब्याजदर घटाउन आग्रह गर्छौं, तर भद्र रुपमा आग्रह गर्दापनि अटेर गरे बढेको ब्याजदर तिर्दैनौं ।’

ब्याजदर बढेका कारण लगानीकर्ताहरु पलायन हुने अवस्थामा पुगेको गण्डकी धौलागिरी अञ्चल सार्वजनिक यातायात व्यवसायी समन्वय समिति पोखराको निश्कर्ष छ । समितिका बरिष्ठ उपाध्यक्ष योगेन्द्रबहादुर केसीले बढेको ब्याजका कारण व्यवसायीहरु ऋणमा चुर्लुम्म डुब्ने अवस्थामा पुगेको बताए । उनले भने, ‘शुरुमा सस्तो ब्याजदर भएका कारण ऋण लिएर लगानी गरेका हुन्, तर अहिले एकतर्फी रुपमा बैंक तथा वित्तीय संस्थाहरुले ब्याज बढाउँदा ब्यबसायबाट पलायन हुने अवस्थामा पुगेका छन् ।’ उनले ब्याजदर घटाउन आग्रह गर्दै यदि अटेर गरे सम्पूर्ण ब्याज नतिर्नेसम्मको आन्दोलन गर्ने चेतावनी दिए ।

शुरुमा ९ प्रतिशत ब्याजदरमा लिइएको ऋण अहिले १६ प्रतिशतसम्म पुग्दा यातायात व्यवसायीहरुको ढाड सेकिएको उनीहरुको भनाई छ । बैंक तथा वित्तीय संस्थाहरुले मनोमानी रुपमा एकतर्फी रुपमा ब्याजदर बढाएर एकाधिकार कायम गर्दा व्यवसाय धरापमा परेको उनीहरुको आरोप छ । सरकारले सार्वजनिक क्षेत्रमा सहुलियत दरमा ब्याज दिने नियम बनाएपनि वैंक तथा वित्तीय संस्थाले त्यसको उलंघन गर्दै ब्याज बढाएको उनीहरुको गुनासो छ ।

यातायात व्यवसायीहरुले ब्याजको स्प्रेड दर पनि वैंक तथा वित्तीय संस्थाहरुले धेरै राखेको आरोप लगाएका छन् । उनीहरुले ब्याजको स्प्रेड दरपनि ३ प्रतिशत कायम गर्न माग गरेका छन् । बैंकहरुले हाल स्प्रेड दर ८ प्रतिशतसम्म राखेको उनीहरुको गुनासो छ । ब्याजदरमा भएको अत्यधिक बृद्धिले उद्योग÷व्यवसायमा लागत बृद्धि भई प्रतिष्पर्धात्मक क्षमतामा ह्रास आएको उनीहरुको भनाई छ । ब्याजदर बढ्दा किस्ता तिर्नसमेत धौ धौ भएको र यहि कारण उद्योग व्यवसायबाटै हातै धुनु पर्ने स्थिति आएको उनीहरुले बताए ।

समितिले ब्याजदर बृद्धिका कारण व्यवसाय धरासायी अवस्थामा पुगेको र सोही कारण नेपाल सरकारको ८ प्रतिशत आर्थिक बृद्धिदर कायम गरी लाखौंको संख्यामा रोजगारीको अवसर सृजना गर्ने सरकारको योजनासमेत तुहिने अवस्था देखिएको औंल्याएको छ ।

गण्डकी धौलागिरी अञ्चल सार्वजनिक यातायात व्यवसायी समन्वय समिति पोखरामा पृथ्वी राजमार्ग बस सञ्चालक समिति पोखरा, गण्डकी ट्रक यातायात व्यवसायी संघ पोखरा, पोखरा बस ब्यबसायी समिति, बेगनासताल बस सञ्चालक समिति लेखनाथ, स्थानीय श्रृङ्गा व्यवसाय समिति पोखरा, ट्याक्सी व्यवसाय समिति पोखरा, गण्डकी ट्रयाक्टर व्यवसायी समिति पोखरा र गण्डकी मझौला मिनी ट्रक सञ्चालक समिति पोखरा आबद्ध छन् ।