गण्डकी विकास बैंक सैनामैनामा

गण्डकी विकास बैंकले रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ५, बुद्धनगरमा शाखा खोलेको छ ।सैनामैना शाखाको सैनामैनामा मेयर चित्रबहादुर कार्कीले उद्घाटन गरे ।

कार्कीले बैंकले यस क्षेत्रका जनताको माग र चाहना अनुसार शाखा विस्तार गरी जनताको वित्तीय स्तरलाई उकास्ने विश्वास व्यक्त गरे ।

बैंकका अध्यक्ष सुशील गौचनकोे अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी जीवन ज्ञवाली, सैनामैना नगरपालिकाका प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारी, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र पन्त र बैंकका प्रबन्धक मिलनकुमार पुनले बोलेका थिए ।

बैंकले केन्द्रीय कार्यालयका साथै देशका ७७ वटा शाखा कार्यालयमार्फत आकर्षक ब्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबिबिएस, एटिएम, सिआस्वा, आइपिएस, मोबाइलबैकिङ लगायतका सेवा दिइरहेको छ । बैंकले लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाबाट ३ सय ६५ दिने बैकिङ सेवा तथा सन्ध्याकालीन सेवा पनि प्रदान गर्दै आएको छ ।

बैंकले न्यून आय भएका व्यक्तिलाई विपन्न वर्ग कर्जा तथा समूहमा आवद्घ लघुवित्त कर्जा पनि प्रदान गर्दै आएको छ । बैंकले आगामी दिनमा समेत शाखा सञ्जाल बिस्तार गर्दै ग्रामीण स्तरका जनतालाई थप सेवा प्रदान गर्ने योजना बनाएको छ ।

बैंकले २०७५÷७६ को दोस्रो त्रैमासमा सञ्चालन नाफा करिब ४१ करोड आर्जन गर्न सफल भएको थियो । सोही अवधिमा निक्षेप २६ अर्ब १९ करोड र कर्जातर्फ २३ अर्ब ३८ करोड पुर्‍याएको छ ।