लैगिक हिंसा र लागुऔषधविरुद्ध सचेतना

मादी गाउँपालिका ५ ठुलास्वारास्थित विद्याज्योति आधारभूत विद्यालयको सभाहलमा लैगिक हिंसा र लागुऔषधविरुद्ध प्रशिक्षण गरिएको छ । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा कालिकाको आयोजनामा सचेतना प्रशिक्षण गरिएको हो ।

कार्यक्रममा मादी गाउँपालिका ५ का अध्यक्ष रतनबहादुर गुरुङले स्थानीय महिला दिदीबहिनी तथा दाजुभाइलाई लैगिक हिंसाको बारेमा केही ज्ञान हुने अपेक्षाका साथ लैगिक हिंसा तथा लागुऔषध नियन्त्रणसम्बन्धी प्रशिक्षण दिइएको बताए ।

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा कालिकाका अध्यक्ष हुमनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, आमा समूह, युवा क्लब, टोल विकास संस्था, सोही विद्यालयका शिक्षक, विद्यार्थी गरी ७५ जना सहभागी थिए ।

सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका इन्चार्ज प्रहरी नायब निरीक्षक भरतप्रसाद पौडेलले लैगिक हिंसाको विषयमा प्रशिक्षण दिए भने रिकोभरिङ नेपाल (हाम्रो परिवार नेपाल) कास्कीका परामर्शदाता अमृतकुमार भट्टराईले लागुऔषधसम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रम संयोजक प्रहरी जवान अनील पौडेलले कार्यक्रमको उद्देश्यबारे चर्चा गरे ।