गुट र राजनीतिले थला पर्दै पोउवासंघ

मंगलबार पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले ४ जना साधारण सदस्यलाई कार्यसमितिमा मनोनित गरेका छन् । अधिकारीले ऐनकुमार साई, रामबहादुर केसी, देवेन्द्र केसी र शिवराज आचार्यलाई मनोनित गरेका हुन् ।

अधिकारीको यो मनोनयनमा संघका १६ सदस्यले लिखित असहमति राखेका छन् । यसअघि उद्योग वाणिज्य संघ गण्डकीलाई पोखरा उद्योग वाणिज्य संघमा कार्यालयका लागि दिएको स्थानबाट हटाउन पत्रचार गर्न अध्यक्षको असहमतिका बाबजुद निर्णय भएको थियो ।

वर्तमान कार्यसमितिमा अध्यक्षबाहेक सबैजसो पदाधिकारी र सदस्य अर्काे प्यानलबाट विजयी भएका थिए । अध्यक्ष अधिकारीलाई नेकपा र अर्काे प्यानललाई कांग्रेसको साथ थियो । आफूले सहयोग गरेका अधिकारी अध्यक्ष भए पनि नेकपा निकटका उद्योगी, व्यवसायीले हालै पोउवासंघकै प्रकृतिको समानान्तर नयाँ संस्था खोलेको छ । यो नयाँ संस्थामा अधिकारीकै प्यानलबाट महासचिवमा उम्मेदवार बनेका किसान सुनार अध्यक्ष बनेका छन् ।

पोखराकै पुरानो र उद्योगी व्यवसायीको संस्था संघ यसरी गुट र राजनीतिले थला पर्ने अवस्था बन्दै गएको छ । यसपालि आयोजित मेलामा पनि अध्यक्ष अधिकारीलाई अर्काे गुटबाट निर्वाचितले असहयोग गरेको बताइन्छ ।

संघका अध्यक्ष अधिकारीले संघको विधानको धारा ६.१.१ (ड) को अधिकार प्रयोग गरी सदस्य मनोनित गरेका हुन् । अध्यक्ष अधिकारीले विधि र विधान विपरीत काम भएको भन्दै बहुमत सदस्यले लिखित असहमति जनाएका छन् । संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले सदस्यले नोट अफ डिसेन्ट लेखेको बताए ।

उनले नोट अफ डिसेन्टमा, ‘संघको विधानको परिच्छेद ६.३.२ अनुसार बैठकमा छलफल हुनुपर्ने विषय तोकी १ दिन अगावै सूचना गर्नुपर्ने स्पष्ट प्रावधान भएकामा त्यसो नभएको बताए
नोट अफ डिसेन्टमा संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइराला, उद्योग उपाध्यक्ष विन्दु कोइराला सुवेदी, वाणिज्य उपाध्यक्ष पवनकुमार प्रजापति, मा महासचिव अर्जुन पोख्रेल, कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छे, उपमहासचिव चिनुकुमारी गुरुङ, कार्यसमिति सदस्य कुुमारी मुना बास्तोला, केशवबहादुर खत्री, दीनेशचन्द्र बास्तोला, बलराम आचार्य, ऋषिराज शर्मा भण्डारी, रामेश्वर अधिकारी, किर्तिबल्लभ त्रिपाठी, हर्कबहादुर अधिकारी, हरिहर सापकोटा र हरिराज पन्तसहित १६ जनाले हस्ताक्षर गरेका छन् ।