सिरिन्डाँडामा सरस्वती पूजासँगै दन्त शिविर

राधाकृष्ण मन्दिर तथा प्रतीक्षालय निर्माण समिति अर्जुनचौपारी गाउँपालिका ३ सिरिन्डाँडाले सरस्वती पूजासँगै निशुल्क दन्त परीक्षण आयोजना गरेको छ । आइतबार भएको कार्यक्रममा जनप्रिय आधारभूत स्कुलका विद्यार्थी र सिरिन्डाँडाका बालबालिकाले सामूहिक रुपमा सरस्वती पूजा गरेका थिए ।

शिविरमा डा. भवानीशंकर पौडेलले दाँतको उपचारबारे प्रकाश पारेका थिए । डिएच युवराज पौडेलले विद्यार्थी र कार्यक्रममा सहभागीलाई दाँतको हेरचाह गर्ने उपायहरुबारे प्रकाश पारेका थिए । शिविरमा १ सय ५० जनाको दन्त परीक्षण गरिएको थियो । ब्राइटर डेन्टल डेन्टल होम नागढुंगा र माता मनकामना डेन्टल केयर सेन्टर न्युरोडको सहयोगमा शिविर भएको हो ।

शिविरमा जाँच गरिएका बिरामीलाई सित्तैमा औषधी र जनप्रिय आधारभूतका विद्यार्थीलाई ब्रस र मञ्जनसमेत वितरण गरिएको थियो । समितिका अध्यक्ष विष्णुहरि पौडेललको अध्यक्षतामा भएको कार्यक्रममा श्री जना माविका प्रधानाध्यापक तारापति पौडेल, महिला समूहका मथुरादेवी पौडेल, समाजसेवी दामोदर पौडेल लगायतले बोलेका थिए ।

कार्यक्रममा दामोदर पौडेलले आफ्नो जन्मदिनको अवसरमा समितिलाई आर्थिक सहयोग गरेका थिए । कार्यक्रम नविन पौडेलले सञ्चालन गरेका थिए ।