सामाजिक अभियानकर्ता स्थानीय सरकारलाई हस्तान्तरण

शान्ति, न्याय तथा मानवअधिकारका लागि समावेशी महिला सञ्जाल (संकल्प) कास्कीका सामाजिक अभियन्तालाई स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ । तालिम, प्रशिक्षणबाट दक्ष बनी लामो समय स्वयंसेवी रुपमा काम गरेका उनीहरुलाई भूमिका दिन संकल्पले आग्रह गरेको छ । सोमबार कार्यक्रम आयोजना गरी कास्कीको अन्नपूर्ण गाउँपालिका र पोखराका केही वडामा कार्यरत ४५ अभियानकर्तालाई स्थानीय सरकारलाई हस्तान्तरण गरिएको हो ।

संकल्पका केन्द्रीय अध्यक्ष लिली थापाले महिलाको अर्थपूर्ण सहभागिताका लागि सबैको एकीकृत प्रयास जरुरी भएकोमा जोड दिइन् । उनले दक्ष जनशक्तिलाई उपयोग गरी सामाजिक न्याय र समतामूलक समाज निर्माणमा लगाउन स्थानीय सरकारलाई उनले आग्रह गरिन् ।

जिल्ला समन्वय समिति कास्की अध्यक्ष बैनबहादुर क्षेत्री अधिकारीले सामाजिक रुपमा योगदान गरेका अभियन्ता र नागरिकको सीप समृद्ध नेपालको अभियानमा लगाउनुपर्नेमा जोड दिए । उनले पितृसत्तात्मक सोचका कारण अझै धेरै समस्या बाँकी रहेकाले भएका उपलब्धि रक्षा गर्दै थप सफलताका लागि लाग्न आग्रह गरे ।

अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवरले समाजमा स्वार्थीपन बढेको बताए । उनले भने, ‘काम पर्दा सबैले सबैलाई चिन्ने, नपर्दा कसैले कसैलाई नचिन्ने संस्कार बन्दै गएको छ ।’ उनले स्थानीय सरकारले मात्र चाहेर समृद्धि सम्भव नहुने भएकाले नागरिकको सहयोग जरुरी रहेकोमा जोड दिए ।
मानवअधिकारका लागि महिला एकल महिला समूहगण्डकी अध्यक्ष प्रमिला तझ्याले महिला हिंसा न्यूनीकरण र सामाजिक अभियानलाई गति दिन अभियानकर्ताले उल्लेख्य भूमिका निर्वाह गरेकाले उनीहरुको भूमिकालाई निरन्तरता दिन आग्रह गरिन् ।

मानव अधिकारका लागि महिला एकल महिला समूह कास्की अध्यक्ष जुना केसीले मासिएर नजाने सम्पत्ति जनशक्ति हस्तान्तरण गर्न लागेको बताइन् । उनले भनिन्, ‘सम्पत्ति हस्तान्तरण गरेका छौं । कसरी हुन्छ, उपयोग गर्नुस् ।’

कार्यक्रममा गैरसरकारी संस्था महासंघ कास्की अध्यक्ष पदमराज पहारी, राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत नीतु गर्ताैला, संकल्प कास्की उपाध्यक्ष सरिता तिमिल्सिना, आमा मिलन केन्द्र अध्यक्ष पार्वती पौडेल,भोजकुमारी थापा, सरिता भट्टराई, विष्णु भट्टराई लगायतले बोलेका थिए ।