धारा आधारभूत विद्यालय पोखरा १९ चुरुंगाको ४० औं वार्षिकोत्सव एवं अभिभावक दिवस आइतबार भएको छ । विद्यालयले पुरस्कार वितरण, सांस्कृतिक कार्यक्रम लगायतका गतिविधि गरी वार्षिकोत्सव मनाएको छ ।
कार्यक्रमा पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेलले मानिसको चेतनाको माध्यम शिक्षा भएकाले जीवनोपयोगी शिक्षा दिनु सबैको दायित्व भएको बताए । उनले वडा कार्यालयबाट विद्यालयलाई ५० हजार रुपैयाँ दिने प्रतिवद्धता पनि गरे ।
लामाचौर स्रोतकेन्द्रका स्रोतव्यक्ति वलराम पोखरेलले यो स्रोत केन्द्रका स्कुलमध्ये धारा आधारभूत नमुना रहेको बताए । ६४ जना विद्यार्थी रहेको यो स्कुलमा अंग्रेजी माध्यमबाट अध्यापन हुन्छ । कार्यक्रममा प्रधानाध्यापक विष्णुप्रसाद गौतमले प्रतिवेदन पेश गरे । उनले विद्यालयमा शिक्षाको गुणस्तर अझ बढाउँदै गुणस्तरीय शिक्षा प्रदानका लागि विद्यार्थी, शिक्षक, अभिभावक र समाजकै एकीकृत भूमिका रहनेमा जोड दिए ।
विद्यालयका संस्थापक अध्यक्ष निर्मलप्रसाद गौतमले सरकारी विद्यालयको गुणस्तर ह्रास हुँदै गएको अवस्थमा धाराको शिक्षण सन्तोषजनक रहेको बताए । कार्यक्रममा विभिन्न प्रतियोगितामा उत्कृष्ट, कक्षागतरुपमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो भने स्कुलमा रहेका विभिन्न अक्षयकोषबाट पनि पुरस्कार वितरण गरिएको थियो । हाल अमेरिका रहेका सन्तोष श्रेष्ठले सबै विद्यार्थीलाई स्वीटर र एक जोर चप्पल प्रदान गरेका छन् ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष चेतनाथ गौतम र शिक्षक रोधनाथ गौतमले पनि बोलेका थिए । सोही कार्यक्रममा लान्यस पोखरा गतिशीलले विद्यालयमा निर्माण गरेको खानेपानी टंकी र धारा पनि विद्यालयलाई हस्तान्तरण गरेको छ ।




