सर्लाही र महोत्तरीमा आगलागीमा तीन घर जलेर नष्ट

सर्लाही र महोत्तरीमा भएको आगलागीमा तीनवटा घर जलेर नष्ट भएका छन् ।

सर्लाही चक्रघट्टा गाउँपालिका-७ सगरदिनाका सरफ लहेरी, महोत्तरी बर्दिबास नगरपालिका-११ चनौटेका दिलबहादुर डिम्डुङ र छिमेकी बुद्धिमान जिम्बाको घर जलेर नष्ट भएको हो ।

तीनवटा घर जल्दा १३ लाख ५० हजार मूल्य बराबरको क्षति भएको अनुमान प्रहरीले गरेको प्रदेश प्रहरी कार्यालय, प्रदेश न.२ का प्रवक्ता प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

अचानक आगलागी हुँदा सरफ लहेरीको २ तले काठको घर जलेको हो । आइतबार बिहान आगलागी हुँदा घर र घर भित्र रहेका अन्नपात लत्ता कपडा र एउटा खशी जलेको प्रहरीले जनाएको छ ।

आगलागीमा उनको मात्रै दुई लाख पचास हजार बराबरको क्षति भएको अनुमान छ । प्रहरी चौकी औरही सर्लाहीबाट खटिएको प्रहरी र स्थानीय बासिन्दा मिलेर आगो नियन्त्रणमा लिएका थिए ।

त्यसैगरी महोत्तरीमा शनिबार दिउँसो पानीसँगै परेको चट्याङ्बाट आगलागी हुँदा ११ लाख बराबरको क्षति भएको हो । बर्दिबास नगरपालिका-११ चनौटेका दिलबहादुर डिम्डुङको काठ र टायलले बनेको घर जलेको थियो ।

दुई  तले कच्ची घर र घरमा रहेको नगद दुई लाख, लत्ताकपडा, भडावर्तन र अन्नपात गरी आगलागीबाट ९ लाख मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ ।

बुद्धिमान जिम्बाको १ तले कच्चि घर र घर भित्र रहेको नगद रु. एकलाख, भाडा बर्तन र लत्ता कपडा जल्दा .दुई लाख बराबरको क्षति भएको प्रहरी चौकी खयरमारा महोत्तरीले जनाएको छ ।