सरकार महिलामैत्री राज्य विरुद्ध

नेपाली कांग्रेसकी नेतृ विन्दादेवी रानाले वर्तमान सरकार महिलाविरुद्ध बन्दै गएको आरोप लगाएकी छन् ।

नेपाल महिला संघ कास्कीद्वारा आयोजित विरोध सभामा संघीय सांसद रानाले निर्मला हत्याकाण्डमा आजसम्म कुनै दोषी पक्रन नसक्नु महिलालाई दमन गरिरहनु हो भन्दै सरकारको कडा आलोचना गरिन् ।

महिला अधिकार र संविधानले दिएको हकमा सवै महिला एकजुट भएर विरोध गर्नुपर्ने समय आएकाले महिलाहरु संगठित हुन रानाले अनुरोध गरिन् ।

महिला संघ कास्कीकी सभापति कोपिला रानाभाटको अध्यक्षतामा भएको विरोध सभामा नेपाली कांग्रेस कास्कीका सचिव सुदीपमोहन भट्टराईले एकपछि अर्को काण्डमा मुछिँदै गएको सरकारबाट जनताले आशा गर्न नसक्ने बताए ।

महिला संघकी सचिव सीता गुरुङको सञ्चालनमा भएको सभामा नेपाल महिला संघकी केन्द्रीय सदस्य तारा अधिकारी, नेपाली कांग्रेस कास्कीकी कोषाध्यक्ष लक्ष्मी पाण्डे, सहसचिव रंगीला आचार्य, महिला नेतृ सरस्वती गुरुङ, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य भानु ढकाल, नेपाल तरुण दल कास्कीका सचिव नरेन थापा, कोषाध्यक्ष जीवन बास्तोला, नेवि संघ कास्कीका पूर्व सभापति विक्रमादित्य सिंह गिरी लगायतले बोलेका थिए ।

विरोध सभामा महिलाको अधिकार हनन् गर्ने सरकार जनताको हुन नसक्ने भन्दै महंगी, भ्रस्टाचार, बलात्कार र अधिनायकवाद केन्द्रित कम्युनिस्ट सरकार पतनको बाटोमा गएको बताएका थिए ।