१ पाथी अन्नमा वर्षभर काम

सञ्चार र प्रविधिको अहिलेको युगमा पनि परम्परागत कटुवाल प्रथा कायम छ । गाउँघरमा सार्वजनिक सूचना पाउने भरपर्दो माध्यमका रुपमा यसलाई लिइन्छ । गलकोट नगरपालिका–७ मल्मका भक्तबहादुर विक विगत चार वर्षदेखि कटुवालको भूमिकामा छन्।

कटुवालको कामलाई ‘हाँको हाल्ने’ भनेर समेत बुझिन्छ । पहिले अग्ला डाँडामा पुगेर चर्को आवाज निकालेर खबर वा सूचना दिने भन्ने चलन थियो । अहिले भने कटुवालले हाते माइकको साहारा लिन थालेका छन् । गाउँ भेला, सार्वजनिक कार्यक्रम, पूजाआजा, बनमा घाँसदाउरा फुक्दा सूचना पु¥याउने काम कटुवालको हो ।

“वर्षमा १५÷२० पटक सूचना दिइने भन्ने काम पर्छ”, ५० वर्षीय विकले भने । मल्म गाउँको माथिल्लो भेग टोक्री, झिर्कासम्मै पुगेर सूचना प्रवाह गर्छन् । यसअघि कटुवाल रहनुभएका शेरबहादुर विकको निधन भएपछि गाउँलेले सोको जिम्मा भक्तबहादुरलाई दिएका थिए । “समुदायले अनुरोध गरेपछि मैले सहयोग गरेको हुँ”, उनले भने, “यो पेशाबाट जीविकोपार्जनमा पनि केही टेवा पुगेको छ ।”

उनले सूचना वाहकको काम गरेबापत गाउँका प्रत्येक घरबाट वार्षिक एक पाथी अन्न लिने गरेका छन् । अन्न नहुनेले सोही बराबरको नगदसमेत दिने गरेका छन् । विकले घरघरमा अन्न उठाउँदै हिँड्न कठिन भएपछि एकमुष्ट नगद दिने व्यवस्थाका लागि समुदायसँग माग गरेका थिए । “वडा कार्यालयमा पनि कुरा राखेको छु”, विकले भने, “सुविधा थपिए काममा सहज हुने थियो ।” विकलाई सूचना भन्न चाहिने हाते माइक गाउँकै एक सामुदायिक वनले उपलब्ध गराएको छ ।

माइकको ‘बेट्री’ भने सूचना दिने सम्बन्धित संस्थाले किनिदिने गरेको छ । मल्ममा सूचनाका अन्य माध्यमको पहुँच नभएको भने होइन । ‘हाँको’ हाल्दा धेरै जनामा एकसाथ सूचना पुग्ने हुँदा गाउँमा यसको प्रभावकारिता देखिएको हो । कटुवालको आयआर्जनसँग पनि यो पेशा जोडिएको छ ।

गाउँ, टोलमा खबर पु¥याउन यसबाट सुलभ र छरितोसमेत हुने गरेको कार्यवाहक वडाध्यक्ष लोकबहादुर थापाले बताए । “पुरानो चलन भए पनि यसको प्रभावकारिता भने अझै छ”, उनले भने । वडा कार्यालयले सुविधा र पारिश्रमिक थप्न पहल गरिरहेको उनको भनाइ छ । अन्नको सट्टा नगद पारिश्रमिक दिइनुपर्ने कटुवालको माग छ ।

कटुवाललाई प्रथा नभएर पेशा बनाउनुपर्ने पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरिषले बताए । “राम्रो पारिश्रमिक दिएर काममा लगाउनुपर्छ”, उनले भने, “कटुवालले पनि समय सुहाउँदो ढङ्गले सूचना दिइने तरिका बदल्नुपर्छ ।” कटुवालको ठाउँमा अन्य कुनै नाउँ पनि दिन सकिने उनको सुझाव छ । मल्मसँगै जिल्लाका अन्य ग्रामीण भेगमा पनि यो प्रथा जीवित छ । नेपालमा भुरेटाकुरे राज्यको पालादेखि कटुवाल प्रथा शुरु भएको मानिन्छ ।