पोखरामा सुदेश सत्यालमा रोज्जा कविता

‘…तिम्रा हात कहाँ कहाँ बिकिसके ताली नमार्नु अब’ खचाखच भरिएको हलमा कविता सुन्न उपस्थित श्रोतालाई ताली नमार्न आग्रह गर्दै उनले आफ्नो कविता वाचनको थालनी गरे । नेपालमा सुस्ताउँदै गरेको छन्द कवितालाई नयाँ आयाम दिएर नवीन मोडमा लैजान निरन्तर लागिपरिरहेका युवा कवि सुदेश सत्याललाई पहिलो पटक पोखरामा उभ्याएको थियो नेपाली लेखक संघ कास्कीले ।

शनिबार कन्या क्याम्पसको सभाहलमा पोखराका साहित्यानुरागीमाझ उनले डेढ दर्जन कविता प्रस्तुत गरे । प्रेमको विषयलाई कृष्ण र राधिकाको लीलामार्फत् उनले श्रग्विणी धारामा यसरी सुनाए –‘राधिका झैं फूलबारीहरू, कृष्ण लीला न हुन् बाँसघारीहरू’ । प्रेमलाई यसरी छन्दमा उनेर कविता सुनाएका उनले अहिलेको राजनीतिक कुसंस्कारलाई यसरी झटारो समेत हान्न भ्याए, ‘…हत्यारा जति भेटिने सहर नै त्यो बालुवाटार हो ।’

कवितामा जनजीवन, प्रेम, राजनीतिक अपराधीकरण लगायतका आफ्नै देशका कथाव्यथा मात्र उनिएका थिएनन् सिरियामा भएको द्वन्द्वलाई समेत समेटेका थिए । सिरियाको विषय उठान गर्दै उनले द्वन्द्व र रक्तपात बढिरहेको अवस्थामा संयुक्त राष्ट्रसंघको औचित्य सकिएको भाव यसरी प्रकट गरे –‘के गर्ने बलि माग्छ कानुन अझै गान्धीहरूको दूत, साह्रै भो बरु राष्ट्रसंघ अब ता ओढेर कात्रो सुत ।’

देशको बिग्रँदो हालतबाट वाक्क भएका श्रोताहरूले यी विद्रोही कविका कवितालाई परर्र तालीले बीचबीचमा ऊर्जा थपेका थिए । गण्डकी प्रदेशस्तरीय साहित्यिक पुरस्कार स्थापना गर्ने अभियानका साथ नेपाली लेखक संघ कास्कीले सो कार्यक्रम आयोजना गरेको हो । उक्त अवसरमा नेपाली लेखक संघका केन्द्रीय महासचिव डा. रत्नमणि नेपाल, संस्थाका कास्की शाखा अध्यक्ष गणेश शर्मा, उपाध्यक्ष रीतादेवी कँडेल लगायतले बोलेको सचिव सञ्जीव पौडेलले बताए ।