साउदीअरेबियाका पत्रकार खाशोग्गीको हत्या योजनावद्ध तयारीका साथ भएको पुष्टि

पत्रकार जमाल खाशोग्गीको हत्या साउदी अरेबियाका अधिकारीको योजनावद्ध तयारीका साथ भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।संयुक्त राष्ट्रसंघको नेतृत्वमा भएको अनुसन्धानले पत्रकार खाशोग्गीको हत्या साउदी अधिकारीको तयारी तथा योजनावद्ध नियत अनुसार भएको निष्कर्ष निकालेको समाचार संस्था रोयटर्सले जनाएको छ । अनुसन्धानको निष्कर्ष संयुक्त राष्ट्रसंघीय टोलीले बिहीबार सार्वजनिक गरेको हो ।

अमेरिकी पत्रिका द वासिंगटन पोस्टमा लेख्दै आएका साउदी अरेबियाका पत्रकार खाशोग्गीको गएको अक्टोबर २ मा टर्कीको स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा हत्या भएको थियो । सुरुका केही हप्ता पत्रकार खाशोग्गीको अवस्थाबारे केही जानकारी नभएको साउदी अरेबियाले बतायो ।तेस्रो हप्ता साउदी अरेबियाले कन्सुलर कार्यालयमा भएको मुक्का हानाहानमा खाशोग्गीको निधन भएको बतायो । त्यसको केही दिनपछि उसले बोली फेर्दै गलत नियत भएका एजेन्टले खाशोग्गीको हत्या गरेको साउदीले दाबी गरेको थियो ।

पत्रकार खाशोग्गीको हत्या साउदी अरेबियाका उच्च अधिकारीको निर्देशनमा भएको आरोप लाग्दै आएको छ । अर्थात साउदी अरेबियाका शक्तिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान एमबिएसको निर्देशनमा खाशोग्गीको हत्या भएको आरोप लाग्ने गरेको छ ।साउदी अरेबियाले भने खाशोग्गीको हत्यामा युवराज एमबिएस वा राजपरिवारका अरु कुनै पनि सदस्यको संलग्नता नरहेको स्पष्ट रुपमा बताउँदै आएको छ ।दशक भन्दा लामो समय साउदी राजपरिवारको सल्लाहकार रहेका खाशोग्गी पछिल्लो समय एमबिएसका तीव्र आलोचक बनेका थिए ।