संस्कार र साहित्यको पाठशाला गुरुङ साहित्यिक मञ्च

गुरुङ समुदायको बाक्लो बस्ती रहेको पोखराका सबैजसो क्षेत्रमा गुरुङहरु क्रियाशील छन् । सरकारी सेवा र साहित्यमा भने यो समुदाय करिब उदासिन छ । यो उदासिनताले गुरुङ समुदायलाई एकतिर राज्य संयन्त्रको पहुँचबाट टाढा राखेको छ भने अर्काेतिर गुरुङहरुको संस्कार र संस्कृतिमा ह्रास पनि आएको छ ।

पछिल्लो समय आएको जागरणबाट यो समुदाय पनि अघि बढ्दै छ । पोखरामा
गुरुङ साहित्यिक मञ्च नेपाल गठन भएको छ । संस्थाले अनेक गतिविधि गरी गुरुङ साहित्य र संस्कार संरक्षणको जमर्काे गरिरहेको छ । संस्थाले नियमित रुपमा गर्ने मासिक रचनावाचन बिहीबार भएको छ ।

रचनावाचनको आठौ शृङ्खलामा गुरुङ र नेपाली भाषामा करिब १ दर्जन स्रष्टाहरुले रचनावाचन गरे। कार्यक्रमका प्रमुख अतिथि हङकङ निवासी समाजसेवी दुर्गा मिलन घोताने गुरुङले गुरुङ साहित्यिक मञ्च नेपालको यस्तो कार्यक्रमले लेखनमार्फत गुरुङ भाषा ,संस्कार र संस्कृतिलाई आफ्नो समुदायबाट पर अरु समुदाय र अन्तर्राष्ट्रिय जगतसम्म पुर्‍याउन मद्दत गर्ने बताए । उनले यस्तो जमर्काेले समग्र गुरुङ समुदायलाई नै चेतनशील र सजग बनाउने बताए ।

होटल टास्कको मुन्धुम हलमा सञ्चालन भएको कार्यक्रम सञ्चालन महासचिव रोशनी गुरुङले गरेकी थिइन् । २०७३ चैत २१ मा स्थापित यो संस्था पठन र लेखनमा रुचि भएका र लेखिरहेका स्वदेश तथा विदेशका गुरुङ लेखकलाई मञ्च दिने एउटै साझा थलो हो ।

संस्थाले हालसम्म साहित्यिक प्रशिक्षण कार्यक्रम , नियमित मासिक रचनावाचन, कृति प्रकाशन,अक्षयकोष स्थापना जस्ता क्रियाकलाप गरेको छ ।

मञ्चले पाठशाला उपन्यासका लेखक तीर्थ गुरुङलाई १ लाख १ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरिसकेको छ। संस्थाका अध्यक्ष गौरी तमु गुरुङ समुदायलाई आफ्नो भाषा, संस्कारप्रति सजग बनाउँदै साहित्यिक, सांस्कृतिक श्रीवृद्धिमा लागिरहने बताउँछिन् ।