ब्याजदर नघटाए आन्दोलन गर्ने चेतावनी

बैंकहरुले प्रवाह गर्ने कर्जाको ब्याजदर निकै उच्च भएको भन्दै ब्याजदर घटाउन सरोकारवालाले माग गरेका छन् ।

होटल तथा समग्र पर्यटन क्षेत्रलाई बैंकहरुले प्रदान गर्दै आएको कर्जाको ब्याजदर अस्थिर र चर्को भएको भन्दै त्यसलाई नियन्त्रण गर्न हस्तक्षपकारी भूमिका निर्वाह गर्न पश्चिमाञ्चल होटल संघ पोखराले नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष विकल तुलाचनको नेतृत्वमा संघको टोली मंगलबार नेपाल राष्ट्र बैंक पोखरा शाखा पुगेको थियो ।

शाखा प्रमुख निर्देशक पोमनाथ गौतममार्फत् संघले केन्द्रीय बैंकका गभर्नर चिरञ्जीवी नेपाललाई ज्ञापनपत्र बुझाएको छ । विद्यमान अवस्थामा बैंकको स्प्रेड दर पनि अत्यधिक रहेको भन्दै न्यूनतम ५ प्रतिशत कायम गर्न अनुरोध गरेको गरिएको छ ।

‘होटल तथा पर्यटन व्यवसाय दीर्घकालीन रुपमा प्रतिफल प्राप्त गर्ने व्यवसाय भएका कारणले पनि राष्ट्रले प्राथमिकता प्राप्त उद्योगसरह सहुलियत तथा स्थिर ब्याजदरमा कर्जा प्रवाह गर्नुपर्ने देखिन्छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले वर्तमान अवस्थामा गर्दै आएको मनोमानी सुधार नभए सम्पूर्ण व्यवसाय धराशायी हुने निश्चितछ ।

’ नेपालको आर्थिक वृद्धिदर तथा कुलग्राहस्थ आम्दानीमा पर्यटन क्षेत्रबाट महत्वपूर्ण योगदान रहेको तथा ठूलो राशिको कर भुक्तान गर्ने एवं विदेशी मुद्रा आर्जन गर्ने सबैभन्दा ठूलो उद्योग पनि होटल क्षेत्र रहेको संघका अध्यक्ष तुलाचनले स्मरण गराए ।

नेपालमा प्रजातन्त्रको उदय पश्चात् नेपालका पर्यटन व्यवसायीले राजनीतिक अस्थिरता, बन्द,हड्ताल, दश वर्षे विद्रोह, मजदुर आन्दोलन, भूकम्प, नाकाबन्दी, भारतीय नोटबन्दी लगायत विविध समस्या झेल्दै आएको संघले स्मरण गराएको छ ।

पोखरा उद्योग वाणिज्य संघले बैंक तथा वित्तीय संस्थाले एकतर्फीरुपमा ब्याजदर बढाएकोमा आपत्ति प्रकट गर्दै ब्याजदर नघटाएका आन्दोलन गर्ने चेतावनी दिएको छ । संघले बुधबार विज्ञप्ति जारी गर्दै यही माघ मसान्तसम्म ब्याजदर समायोजन नभए निजी क्षेत्रका सबैजसो संघ÷संस्थाहरुसँग सहकार्य गर्दै आन्दोलन गर्ने घोषणा गरेको हो ।

विज्ञप्तिमा ब्याजदरमा भएको अत्यधिक वृद्धिले उद्योग, व्यवसायमा लागत वृद्धि भई प्रतिष्पर्धात्मक क्षमतामा ह्रास आएको उद्योग व्यवसायबाट हातै धुनुपर्ने स्थिति आएको जिकिर गरिएको छ ।

‘ऋणको व्याजमा बृद्धि हुँदा निजी क्षेत्रबाट निर्माणाधीन परियोजनाको लागतमात्र बढेको छैन, नयाँ लगानी पनि निरुत्साहित हुन पुगेको छ’, संघका अध्यक्ष दामु अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ब्याजदर वृद्धिले नागरिकको दैनिक जीवनमा थप व्ययभारको अवस्थासमेत आएको छ । ’ व्यापार÷व्यवसाय गर्दा ५ देखि ७ प्रतिशत मुनाफा कमाउन पनि मुस्किल हुने तर त्यही पुँजी बैंक वा वित्तीय संस्थामा राख्दा १२ प्रतिशतसम्म ब्याज पाइने अवस्था सृजना हुनु अर्थतन्त्रका लागि गम्भीर भएको विज्ञप्तिमा उल्लेख छ ।

पोखरा उद्योग वाणिज्य संघे बैंक तथा वित्तीय संस्थाले ब्यादर बढाउँदा भएको समस्याबारे बुधबार अन्तक्र्रिया पनि भएको छ ।अन्तक्र्रियामा बोल्ने व्यवसायीले ब्याजदर बढ्दा व्यवसाय गर्न कठिन भएको र ब्याजदर नघटे आन्दोलनको विकल्प नभएको बताएका थिए ।

व्यवसायी सन्तोष पोखरेलले ब्याजदर बढ्दा व्यवसाय चौपट भएको दाबी गरे । एकतर्फीरुपले बढाइएको ब्याजदर नघटाउने हो भने व्यवसाय बन्द गर्नुको विकल्प नभएको उनको भनाइ छ । पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेले ब्याजदर घटाउन निजी क्षेत्रले सामूहिक रुपले दवाब दिनुपर्ने धारणा राखे ।

संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइराला, महासचिव अर्जुन पोखरेल, व्यवसायी विकल तुलाचन, पवित्रबहादुर नेपाली, वनमाली आचार्य, प्रेम दाहाल, तारानाथ ढुंगाना, कमलप्रसाद पौडेल, जगदीश अधिकारी, बलराम तिमिल्सिना, चूडामणि अधिकारी, माधवप्रसाद तिवारी,यमबहादुर पौडेल, उदयबहादुर केसी, रुपनारायण भुजेल,विष्णुप्रसाद तिमिल्सिना, राजन गोंगजु, शुष्मा पाण्डे, हरिप्रसाद पाण्डे लगायतले बोलेका थिए ।