जिएसीका अध्यक्ष भन्छन् : आन्दोलनले लछारपाटो लाउदैन

- संसदमा पुग्यो जिएमसी काण्ड, अझै खोलिएन ताला

नेपाल मेडिकल काउन्सिलले तोकेको शुल्कभन्दा बढी शुल्क असुलेको प्रमाणसहित सार्वजनिक भए पनि गण्डकी मेडिकल कलेज –जिएमसी) प्रशासन झुक्ने पक्षमा देखिँदैन । वर्षाैदेखि विद्यार्थीसँग बढी शुल्क असुलेर अवैधानिक धन्दा गर्दै आएको जिएमसी विद्यार्थीलाई धम्क्याएरै आन्दोलन रोक्ने प्रयत्नमा छ ।

मंगलबारबाट जिएमसी अस्पतालको ओपिडीमा समेत विद्यार्थीले ताला लाइदिएका छन् । कलेज अध्यक्ष खुमा अर्यालले विद्यार्र्थीको आन्दोलनले केही लछारपाटो नलगाउने बताए । ‘नियमन गर्ने सरकारको निकाय छ । विद्यार्थीले आन्दोलन गरेर केही हुन्न । सरकारले तोकेको रकममा सुविधासहित पढाउन सकिँदैन ।’ उनले विद्यार्थीलाई कसैले उचालेर आन्दोलन गराएको दाबीसमेत गरे ।

आन्दोलित विद्यार्थीले क्याम्पसका कक्षाकोठा र प्रशासनमा ताला लगाएको साता पुगिसकेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका विद्यार्थीसँग बुधबार छलफल भएको र बिहीबार कलेज प्रशासनसँग छलफल हुने जनाइएको छ । कलेज प्रशासनबाट फोन गरेर आन्दोलन छोड्न धम्की दिने गरेकोसमेत विद्यार्थीको गुनासो छ ।

पहिला भएका आन्दोलका सहमतिविपरीत उल्टै अतिरिक्त शुल्क लिने र बिल पनि नदिने गरिएकाले फेरि आन्दोलनमा उत्रनुपरेको विद्यार्थी रविना शर्मा बताउँछिन् । शुल्क बुझाउन ढिलो भए १८ प्रतिशत ब्याज जोडेर तिर्नुपरेको विद्यार्थीको गुनासो छ ।

बुधबारको गण्डकी प्रदेशसभा यो विषयले प्रवेश पाएको छ । सांसद इन्द्रलाल सापकोटाले गण्डकी मेडिकल कलेजले विद्यार्थीबाट बिना बिल बढी शुल्क लिएको बताउँदै शुल्क फिर्ता आग्रह गरेका छन् । उनले कानुनमाथि धावा बोल्ने कलेजलाई कारवाही गर्न माग गरे । कलेजका विद्यार्थीलाई पढ्ने वातावरण मिलाउन र बढी लिएको पैसा फिर्ता गराउन उनले सरकारसँग माग गरे ।