ठूलाठालु मिल्दा विकास कमसल : जीवन

- स्याउले खेत खानेपानी लिफ्टिङ आयोजना शिलान्यास

गण्डकी प्रदेशका प्रदेशसभा सदस्य रामजीप्रसाद बराल जीवनले सराङकोटको स्याउले खेत खानेपानी लिफ्टिङ आयोजना शिलान्यास गरेका छन् । स्वचलित सिस्टममा बन्ने आयोजनाका लागि करिब २ करोड खर्च हुनेछ । उक्त योजना कास्कीकै पहिलो भएको प्राविधिक टोलीले दाबी गरेका छन् ।
शिलान्यास कार्यक्रममा सांसद बरालले निर्माणमा ठूलाठालु मिलेपछि आयोजना कमसल हुन गरेको आरोप लगाए । ‘काम सधैं गुणस्तर हुनुपर्छ, गुणस्तरमा कुनै सम्झौता नगर्नुस्,’ उनले भने । क्षणिक स्वार्थ हेरेर खर्च गर्ने परिपाटीले गर्दा जनताले ‘विकासको फल’ चाख्न नपाएको सांसद बरालको भनाइ थियो ।

निर्माण सुरु भएको १ वर्षभित्र बनाइसक्ने लक्ष्यसहित सुरु गरिएको उक्त आयोजनामा५ हजार लिटर क्षमताको पानी ट्यांकीसमेत निर्माण गरिनेछ । आयोजनाको पहिलो चरणमा अन्डरग्राउन्ड लाइन विस्तार, अटोमेटिक पानी वितरण प्रणाली निर्माण गरिने उपभोक्ता समिति अध्यक्ष एकबहादुर ढकालले बताए । उक्त खानेपानी आयोजना शिलान्याससँगै अन्य २ वटा योजनासमेत सुरु भएका छन् ।
पोखरा १८ का अध्यक्ष रणबहादुर थापाले आयोजना सराङकोटबासीका लागि महत्वपूर्ण भएको बताए । सराङकोट डाँडाको खानेपानी समस्या आयोजना सम्पन्न भएपछि ९२ घरपरिवारको खानेपानी समस्या हट्नेछ ।