२ दिदी र भाइ मिलेर मारे राजुलाई

भाइको हत्या गरेर इनारमा शव लुकाउने २ दिदीसहित ३ जना पक्राउ परेका छन् । तनहुँको भानु नगरपालिका–९ काउरेटारका २७ वर्षीय राजु विकको हत्या गरेको अभियोगमा मनकुमारी विक, आयुष विक र मनमाया विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मनकुमारी र मनमाया राजुका दिदी हुन भने आयुष भाइ । मनकुमारी विक समेतले मंसिर १२ गते राति कुटपिट एवं चिर्पट प्रहार गरेर घाँटीमा नाम्लोले कसेर राजुलाई मारेको अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए । राजुको शव सोमबार काउरेटारस्थित रामप्रसाद हड्खलेको बारीमा खनिएको इनारभित्र फेला परेको थियो ।

३ जना मिलेर मारेपछि इनारभित्र फालेर माथिबाट ढकन लगाएर छोपेका थिए । राजुको शव कुहिएर टाढासम्म गन्ध आउन थालेपछि स्थानीयले इनार खोलेर हेर्दा शव भेटिएको थियो । सामान्य सोधपुछपछि मंगलबार ३ जनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा तनहुँ जिल्ला अदातलमा म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

‘घटनाको प्रारम्भिक अनुसन्धानबाट राजुले अत्याधिक मदिरा सेवन गर्ने र कुटपिट समेत गर्ने गरेको पाइयो,’ अर्यालले भने, ‘त्यही कारणले नै राजुको हत्या भएको खुल्न आएको छ ।’