हिउँ पन्छाएर खोलियो उपल्लो मुस्ताङ जाने बाटो

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका वडा नम्बर ५ मा पर्ने चराङ खोलादेखि चराङ गाउँसम्म थुप्रिएको करिब ३ किलोमिटर सडकको हिउँ गाउँलेले सफा गरी ट्र्याक खोलेका छन् ।

गाउँपालिकाका वडाअध्यक्ष टसी ढुन्डुक गुरुङको अगुवाइमा करिब ४० जना गाउँलेको समूहले १३ दिनदेखि थुप्रिएको २ फिट बढी हिउँ बुधबार पन्छ्याएका हुन् । हिउँ पन्छ्याएपछि उपल्लो मुस्ताङ जाने ठूला मालवाहक ट्रकलाई दोहोरो आवत–जावतमा सहज भएको वडाअध्यक्ष गुरुङले जानकारी दिए ।

उक्त बाटो कालिगण्डकी तिरैतिर उपल्लो मुस्ताङ पुग्ने छोटो दुरीको वैकल्पिक सडक हो । हिउँ सफा भएपछि अहिले ट्र्याक खुला भएको र हिउँदको जाडो छल्न बेसी झरेका गाउँलेलाई गाउँ फर्कन सजिलो भएको उनले जानकारी दिए ।


छुसाङदेखि लोमान्थाङ जाने हलुका सवारी समर,घमी हँुदै चराङ पुग्छन् ।तर,सडकमा हिउँ जम्दा गाडी आउजाउ गर्न सक्दैनन् ।

हिउँदयाममा बेसी झरेका उपल्लो मुस्ताङबासी बिस्तार गाउँ फर्कने समय सुरु भइसकेको छ । जिल्लामा परेको हिमपातको असरले उपल्लो मुस्ताङको पूरै यातायात सेवा ठप्प बनेको थियो ।गाउँ फर्कने समयमा हिउँकै कारण गन्तव्यमा पुग्न नसक्ने देखिएपछि चराङबासी हिउँ पन्छ्याउन जुटेको वडाअध्यक्ष गुरुङको भनाइ छ । उनका अनुसार प्रत्येक घरधुरीले साबेल,कोदालो लगायत औजारबाट हिउँ सफा गरेका थिए ।

हिउँदे समय उपल्लो मुस्ताङका स्थानीय विभिन्न व्यापार व्यवसाय तथा घुमफिरमा जिल्ला बाहिरिने परम्परा छ ।विस्तारै गर्मीयाम सुरुभएपछि उनीहरु खाद्यान्नको जोहो गर्दै गाउँ फर्कन्छन् ।जिल्लामा यातायात सेवा सहज भएपछि पोखराबाटै ट्रक चढेर गाउँ पुग्छन् ।

यसअघि हिउँकै कारण चराङ खोलादेखि चराङ गाउँसम्म मालबाहक ट्रक पुग्न नसकेको वडाध्यक्ष गुरुङले बताए ।उपल्लो मुस्ताङ जाने मालबाहक ट्रक वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको छुसाङ गेट हुँदै कालीगण्डकीको तिरैतिर चराङ निस्कन्छन् । तर,खोलाको बाटो भने स्थानीय सार्वजनिक सवारी चल्ने गर्दैनन् । छुसाङदेखि लोमान्थाङ जाने हलुका सवारी समर,घमी हँुदै चराङ पुग्छन् ।तर,सडकमा हिउँ जम्दा गाडी आउजाउ गर्न सक्दैनन् ।

समरको भीर लगायत केही ठाउँमा बाक्लो हिउँ जमेकाले चैतमा मात्र सार्वजनिक सवारी चल्ने उपल्लो मुस्ताङका जीप व्यवसायी समितिका अध्यक्ष देव गुरुङले जानकारी दिए । उपल्लो मुस्ताङमा चल्ने सार्वजनिक सवारी साधनको सेवा पुस अघि नै बन्द भएको थियो । पर्यटक नआउने र सडकसमेत हिउँले अवरुद्ध हुने भएकाले यातायात सेवा बन्द गर्नुपरेको अध्यक्ष गुरुङले बताए । उपल्लो मुस्ताङमा करिब २५ वटा हलुका चल्छन् ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित विद्युतीय कारोबार ऐन विपरीत अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।