राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका समस्या अध्ययन गर्न खगराजको नेतृत्वमा उपसमिति

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएका समस्या अध्ययन गरेर समाधानका उपाय सुझाउनका लागि संघीय संसद प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले उपसमिति गठन गरेको छ।

समितिको बुधबार बसेको समितिले पूर्वस्वास्थ्यसमितिसमेत रहेका सांसद खगराज अधिकारीको संयोजकत्वमा उपसमिति गठन गरेको हो। उक्त समितिमा सांसदहरू अञ्जना विसंखे, गजेन्द्रबहादुर महत, एकल मिया र नविता चौधरी सदस्य रहेका छन्। विसं २०१६ मा स्थापित तत्कालीन राप्ती अञ्चलको सबैभन्दा जेठो अस्पताललाई विस २०७४ असोज २९ गते प्रतिष्ठानमा रुपन्तारण गरिएको थियो।

करीब २२ लाख जनसंख्याको विशेषज्ञ स्वास्थ्य सेवा केन्द्रका रूपमा रहेको सो अस्पतालमा कार्यरत कर्मचारी विसं २०७५ माघ २ गतेदेखि विभिन्न माग राखी आन्दोलित रहेका छन्। उपसमितिलाई प्रतिष्ठानमा देखिएका समस्या अध्ययन गरी सुझाव दिन १५ दिनको समयावधि तोकिएको छ। समिति बैठकमा सांसदहरू अधिकारी, योगेश भट्टराईले स्वास्थ्यका सबै प्रतिष्ठानलाई नियमन गर्न एकीकृत स्वास्थ्य प्रतिष्ठान बनाउन र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएका समस्या समाधान गर्न स्वास्थ्य मन्त्रालयले विशेष पहल गर्न माग गरेका थिए।