एलेन कलेजका संचालक पक्राउ

गैरकानुनी रुपमा कलेज संचालन गरेको उजुरीका आधारमा एलेन कलेज अफ ईन्जिनियरिङ प्रा.लि. इनरुवाका संचालक बिनोद शर्मा पक्राउ परेका छन् ।

अवैधानिक रुपमा संचालनमा रहेको कलेजले मनोमानी शुल्क लिदै ठगी गरेको उजुरी अभिभावकहरुले सीटीईभिटीमा उजुरी गरेका थिए ।स्टिइभिटीका क्षेत्रीय प्रमुख डा. शिव दाहालले कारवाहीका लागि प्रशासनलाई पत्र लेखे पछि उनी पक्राउ परेका हुन ।

उजुरीका आधारमा सीटीईभिटी क्षेत्रीय कार्यालय इटहरीको छानविनका क्रममा कलेज स्वीकृत विना नै संचालनमा आएको खुलेको थियो ।

सोही विषयलाई आधार देखाउँदै सीटीईभिटीले कलेज बन्द गरी ठगी मुद्दामा कार्वाहीकालागि जिल्ला प्रशासनमा गरेको पत्राचारका आधारमा आवश्यक कार्वाही अघि बढाउन दिइएको आदेश बमोजिम सुनसरी प्रहरीले संचालक शर्मालाई पक्राउ गरेको हो ।हिजो म्याद थप गरि आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी राजन अधिकारीले जानकारी दिए । 

आफुहरुले संचालन गरेको कलेज वैधानिक रहेको दाबी गर्दै आएका एलेन कलेजका संचालक शर्मा पक्राउ परे पनि अध्यक्ष मनोजकुमार मेहता भने स्वास्थ्य समस्याका कारण उपचारको क्रममा रहेको बताइएको छ ।

पक्राउ गरी कार्वाहीका लागि ल्याइकोमा एक्कासी बिरामी परेपछि उपचारक ालागि मेहतालाई अस्पताल पुर्याइएको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार चेकजाँच पश्चात मेहतलाई नियन्त्रणमा राखी कानुनी कार्वाहीको प्रकृया अघि बढाइने छ ।

एलेन कलेज अफ ईन्जिनियरिङ प्रा.लि. इनरुवाले सीटीईभिटीबाट मान्यता प्राप्त नै नगरी कम्प्युटर सिस्टम एडमिनिस्टर एण्ड डेभलप्मेन्ट १३२० घण्टाकोे कार्यक्रम संचालन गर्दै आएको पाइएको थियो ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ मा ठगी गरेको ठहर भएमा ऐन अनुसार कसुर गर्ने व्यक्तिलाई सात वर्ष सम्म कैद र ७० हजार रुपैंया सम्म जरिवाना हुने व्यवस्था रहेको छ ।