सफाइको सन्देश दिँदै ‘हामी नउठे को उठ्छ’

सरसफाइसम्बन्धी सन्देशमूलक गीत ‘हामी नउठे को उठ्छ’ को म्युजिक भिडियो मंगलबार सार्वजनिक गरिएको छ । पत्रकार प्रभु अधिकारीको प्रस्तुति रहेको यो गीतमा शब्द मन क्षेत्री र संगीत नरजंग गुरुङको छ ।

अपील त्रिपाठीको निर्देशन रहेको म्युजिक भिडियोमा रामभक्त जोजिजू, इतु जोजिजू, नरजंग गुरुङ, अजुदा थापा, योगेश काजी, मनोज गुरुङ र आशीष दासले स्वर दिएका छन् । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले म्युजिक भिडियो सार्वजनिक गरे ।

उनले फोहोरमैला व्यवस्थापनका लागि सर्वजनिक निजी साझेदारी ऐन बनेको बताए । ‘फोहोर मैलाको व्यवस्थापनका लागि प्रविधिमैत्री उद्योग खोल्न प्रेरित गरिनेछ,’ मेयर जिसीले भने, ‘फोहोरमैलालाई घर घरमा व्यवस्थापन गर्नेदेखि फोहोरमैला नै नगर्ने वातावरण सिर्जना गर्न ध्यान दिइनेछ ।’

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले म्युजिक भिडियोले जनतामा सचेतना ल्याउने र महानगरलाई दायित्वबोध गराउने बताए । उनले पोखरामा विगतमा भन्दा फोहरमैला व्यवस्थापनमा चुनौती थपिएको बताए ।

नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले सरसफाइ अभियान सधैभरि गर्न नसकिने बताए । हरेकले आफ्नो घर आसपासमा आफैं सफा गर्नुपर्ने उल्लेख गर्दै उनले हरेक नागरिक सरसफाइमा उत्रिए १० मिनेटमा पोखरा सफा हुने तर्क गरे ।

कार्यक्रममा म्युजिक भिडियोका निर्देशक अपिल त्रिपाठी, पत्रकार महासंघ कास्की कोषाध्यक्ष सञ्जय मल्ल, गीतकार मन क्षेत्री, गीतका प्रस्तुतकर्ता प्रभु अधिकारी लगायतले बोलेका थिए ।