व्यवसायी एवं सकारात्मक सोचका अभियन्ता कर्ण शाक्यको नयाँ पुस्तक ‘कोष जीवनपछिको जीवन’ लोकार्पण गरिएको छ । काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा समता स्कुलका संस्थापक उत्तम सञ्जेल, समालोचक÷साहित्यकार गीता त्रिपाठी र लेखक शाक्यले पुस्तक लोकार्पण गरे ।
कार्यक्रममा शिक्षासेवी सञ्जेलले नेपालमा उद्यमशीलताको विकास हुनुपर्नेमा जोड मात्र दिएनन्, कर्ण शाक्यका पुस्तकले उद्यमशीलता विकासमा सघाउने बताए । शिक्षाको विकासबाट मात्र कुनै पनि देशले समृद्धि हासिल गर्न सक्ने र विकासको बाटोमा अघि बढ्ने उनको भनाइ छ । त्यसका लागि समताले देशका सबै जिल्ला र बंगलादेश, श्रीलंकालगायत १२ मुलुकमा समता स्कुल सञ्चालन गरेको उनको भनाइ छ ।
‘कर्ण शाक्य आफू धनी हुन् नै, उनी देशका सबै नागरिक धनी हुनुपर्छ भन्ने सोच्छन्,’ सञ्जेलले भने, ‘यो पुस्तकले पनि त्यही धनी हुने बाटो सिकाउँछ ।’ सँगै कर्मशीलताको बाटोमा मानिसलाई अघि बढाउन पनि पुस्तक फलदायी हुने उनको भनाइ छ ।
उक्त अवसरमा साहित्यकार त्रिपाठीले शाक्यको यो पुस्तकलाई ‘व्यवहार सिकाउने गीता’का रुपमा चित्रण गरिन् । ‘कर्ण शाक्यका पुस्तक पढ्दै जाँदा कताकता निजात्मक लाग्छन्,’ उनले भनिन्, ‘बुझ्दै जाँदा भने ती सार्वजनिक लाग्छन् ।’ साथै उनले ७५ वर्ष कटिसक्दा पनि शाक्यमा रहेको लेखन ऊर्जाको तारिफ गरिन् । भनिन्, ‘शाक्य लेखाइमा ३० बर्से युवा जस्ता लाग्छन् ।’
कार्यक्रममा लेखक शाक्यले आफू सधैं कर्ममा विश्वास गर्ने व्यक्ति रहेको बताए । कुनै पनि देशको विकास फोस्रा भाषणबाट मात्र सम्भव नरहेको र त्यसका लागि कर्मयोगी व्यक्तिको अपरिहार्यता रहेको उनको भनाइ छ ।
कार्यक्रममा फाइनप्रिन्टका अजित बरालले नारायण वाग्लेको पल्पसा क्याफेले जसरी नेपाल आख्यानलाई लोकप्रिय बनायो, त्यसरी नै कर्ण शाक्यको सोचले नेपाली गैरआख्यानलाई पनि त्यस्तै बनाएको बताए ।
रंगकर्मी प्रकाश सायमीले कार्यक्रममा कर्ण शाक्यको बहुआयामिक व्यक्तित्वका बारेमा चर्चा गरेका थिए । पुस्तकले व्यावहारिक ज्ञानमा जोड दिने र मानिसलाई उद्यमशील बनाउन सघाउने उनको भनाइ छ । खोक्रा सिद्धान्त मात्र नभई उद्यमशीलताका व्यावहारिक पक्ष उल्लेख रहेको यो पुस्तक उपयोगी रहेको उनले बताए । पुस्तक फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हो । पुस्तकको मूल्य ४९८ रुपैयाँ छ ।




