नेविसंघ आन्दोलन : सरकारी गाडी बन्ददेखि शैक्षिक हड्तालसम्म

कार्यकर्ता रिहाइको माग गर्दै नेपाल विद्यार्थी संघले आन्दोलन घोषणा गरेको छ । आन्दोलन अन्तर्गत बुधबार कास्की जिल्लाभर सरकारी गाडी चल्न नदिने घोषणा छ । माघ २३ गतेदेखि २५ गतेसम्म विभिन्न चरणको आन्दोलको कार्यक्रमहरु घोषणा गरेको हो ।

सरकारविरुद्ध आन्दोलनमा उत्रेका नेविसंघका ४ नेता मंगलबार पोखरामा पक्राउ परेर छुटेपछि उनीहरुले थप आन्दोलन घोषणा गरेका हुन् । नेविसंघका केन्द्रीय सदस्य भानु ढकालसहित नेता विधान लामिछाने, गोविन्द नेपाली र सागर सापकोटालाई चिप्लेढुंगाबाट पक्राउ परेका थिए । उनीहरुलाई प्रहरीले ४ घन्टापछि छाडेको थियो ।

केन्द्रीय सदस्य ढकालका अनुसार बुधबार २३ गते अनिश्चिकालीन रुपमा सरकारी गाडी जिल्लाभर चल्न नदिने कार्यक्रम छ । बिहान ८ बजेदेखि देखि १० बजेसम्म जिल्लाभरका क्याम्पस अगाडि चक्काजाम र विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको उनले बताए ।

बिहीबार २४ पोखरा महागरको शिक्षा शाखा र जिल्ला शिक्षा विकास तथा समन्वय इकाईको कामकाज ठप्प पार्ने, २५ गते शुक्रबार कालो पट्टी बाँधेर धर्ना दिने लगायतका कार्यक्रम छ । माग सुनुवाई नभए अनिश्चित कालका लागि शैक्षिक संस्था बन्द गर्ने नेविसंघले चेतावनी दिएको छ । विज्ञप्तिमा नेविसंघका ३ केन्द्रीय सदस्य भानु ढकाल, गोपाल गुरुङ र देवकृष्ण पराजुलीले हस्ताक्षर गरेका छन् ।

सार्वजनिक बिदाका दिन चलाइएको भन्दै गएको शनिबार नेविसंघले पोखरा महानगरको गाडी जलाएको थियो । त्यसपछि प्रहरीले ५ जनालाई पक्राउ गरेको थियो । २ जना छुटे पनि परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेलविरुद्ध प्रहरीले उपद्रव मुद्दा अदालतमा दायर गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आन्दोलनका क्रममा पक्राउ परेका भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घका नेता तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ ।

काङ्ग्रेसले आज एक विज्ञप्तिमार्फत आन्दोलनमा रहेका विद्यार्थी नेता पक्राउ गरिएको भन्दै घटनाको निन्दा गर्नाका साथै गिरफ्तार गरिएका सबै विद्यार्थी नेतालाई तुरुन्त रिहाइ गर्न आग्रह गरेको हो ।

पोखरामा भएको विरोध प्रदर्शनमा विद्यार्थी नेताहरु परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेललाई झुट्टा मुद्दामा फसाएर थुनामा राखेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सो घटनाको विरोध गर्दै गिरफ्तार विद्यार्थी नेताको रिहाइको माग गर्दै काठमाडौँको नयाँ बानेश्वरमा आज गरिएको प्रदर्शनमा सङ्घका केन्द्रीय अध्यक्ष नैनसिंह महर, उपाध्यक्ष नवीन राईलगायत विद्यार्थी नेता डम्बर सुनार, प्रेम शाही, शङ्कर खड्का, सरोज तिमिल्सिना, निराजन नेपाल, सञ्जीव ढकाल, रबिन केसी, सञ्जीव खड्का, सागर पाण्डे, हृदयराज मिश्र, सुनील सोडारी, तपेन्द्र बुढा, सुवास अधिकारी, सुरज सैजुवाल, अशोक सिंह विष्ट, अनुराग शाह, जेम सिंह राई र रोहित नेपाललाई प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा जनाइएको छ ।