४ महिना बित्यो, अस्पताल खुलेन

तनहुँको शुक्लागण्डकी ११, साँखेस्थित फूलबारी सामुदायिक अस्पताल सरकारलाई हस्तान्तरण भएको ४ महिना बित्दा पनि सञ्चालन हुन सकेको छैन । भदौको अन्तिम साता अस्पतालको स्वामित्व ढोरफिर्दी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको थियो ।

हस्तान्तरणपछि ढोर फूलबारी सहिद अस्पतालको नामबाट सञ्चालन गर्ने सहमति भएको थियो । गाभिएपछि १५ शैयाको बनाउने लक्ष्य छ । अस्पतालले सेवा प्रवाह नगर्दा यस क्षेत्रका स्थानीयले स्वास्थ्य परीक्षणबाट बञ्चित हुनुपरेको छ ।

शुनपा१२, राइपुरका बुद्ध भट्टराईले ४ महिना बितिसक्दा पनि स्थानीय तहले अस्पताल सञ्चालन नगर्दा सेवाग्राही मारमा परेको दुखेसो गरे । ‘विरामी भएर रातको समयमा आउँदा, अस्पताल बन्द भएर फर्कनुपरेको छ उनले भने, जतिसक्दो चाडो खोलेर सेवा सुचारु गर्नुपर्छ ।’ डेलिगेसनका लागि नगर परिसरमा पुगेका स्थानीय थमनबहादुर आलेले अस्पताल तुरुन्त सञ्चालन गर्न सम्बन्धित निकायलाई आग्रह गरे ।

‘पहिलो १ चिकित्सकसहित राम्रै चलिरहेको थियो, सबै उपकरण प्रदान ग¥यौं, उनले भने तर अहिलेसम्म कुनै चिकित्सक र प्राविधिक गएका छैनन् ।’ स्थानीय तहलाई जिम्मा लगाएपछि राम्रो सेवा सुविधा पाउने आशा भएपनि अस्पतालकै ढोका बन्द हुँदा विरामीलाई दुलेगौंडा ल्याउनुपर्ने बाध्यता भएको उनले सुनाए ।

अस्पताल विकास समितिका अध्यक्ष शालिकराम भट्टराइले गण्डकी प्रदेश सांसद आशा कोइराला र शुक्लागण्डकी नपाका मेयर किसान गुरुङको उपस्थितिमा अस्पताल हस्तान्तरण गरिएको थियो । गत असोज २७ गते बसेको मन्त्रिपरिषद बैठकले अस्पताललाई सरकारी स्वामित्वमा ल्याई स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्ने निर्णय भएको थियो ।