‘होचो ढोका’ बाट आए शिवहरि

पत्रकार शिवहरि घिमिरेको पहिलो कृति ‘होचो ढोका’ सार्वजनिक भएको छ। स्वदेश प्रकाशनले बजारमा ल्याएको कृतिको पूर्वउप–प्रधानमन्त्री टोपबहादुर रायमाझी, संस्कृतिविद् डा. गोविन्द टण्डन, नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेल, संस्कृतिविद् सत्यमोहन जोशी तथा लेखककी आमा खुमकला घिमिरेले संयुक्त रुपमा सार्वजनिक गरे।

पूर्वउप–प्रधानमन्त्री रायमाझीले इतिहासको खोज, रक्षा र विकासमा लेखक एवं पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताए। वास्तविक नागरिकको इतिहासले अझै पूर्णता नपाएकाले साहित्यकारको ध्यान त्यसतर्फ जानुपर्ने रायमाझीको जोड थियो। वाङ्मय शताब्दी पुरुष जोशीले पुरानै विषयबस्तुलाई नयाँ स्वरूपमा सम्प्रेषणीय बनाई प्रस्तुत गरेमा नेपाली साहित्य विश्वसामु पुग्ने बताए।

पुस्तक समिक्षक संस्कृतिविद् डा. टण्डनले हराउँदै गएको कला, संस्कृति र मौलिकतालाई स्मरण गराउन पुस्तक सफल रहेको जनाए। ‘होचो ढोका किताबभित्र रहेका ६७ शीर्षकभित्रको एउटा भाग हो। होचो ढोकामा शासकबाट छोरी बुहारीलाई जोगाउन मात्र नभई आँगनको देवतालाई दर्शन गर्न जाँदा ‘शीर निहुँर्‍याएर जान सकियोस्’ भनेर राखिएको हो। नेपाली संस्कृतिमाथि अन्य यस्ता पुस्तक आएका छैनन्’, टण्डनले भने, ‘२५ वर्षकै उमेरमा यस्तो खोजी गरेर पुस्तक लेख्न सक्नु सबै लेखक र पत्रकारका लागि प्रेरणा र गौरवको विषय हो। पुस्तकमा केही त्रुटी पनि छन्। आगामी संस्करणमा लेखकले सच्याउनु हुनेछ भन्नेमा आशावादी छु।’

नागरिक दैनिकका प्रधानसम्पादक लुइँटेलले समाचार संकलनको विषयलाई सुक्ष्म रुपले खोज गरी पुस्तक बनाएर पत्रकार घिमिरेले उदाहरणीय काम गरेको बताए। उनले पुस्तकमा कतिपय तथ्य दोहोरिएकाले आउँदो संस्करणमा थप संयोजन गर्न सुझाव दिए। पत्रकार घिमिरेले तीन वर्षसम्म कला एवं संस्कृति विषयमा गरेको समाचार संकलनको विषयलाई पुस्तकमा समावेश गरिएको बताए। लेखक घिमिरे बिबिसी, विभिन्न रेडियो तथा अनलाइन हुँदै तीन वर्ष यता नागरिक दैनिकमा आवद्ध छन्।

घिमिरेले पुस्तकमा परम्परित इतिहास र मिथक समेटिएको छ। पुस्तकमा काठमाडौं उपत्यकाको प्राचीन संस्कृति र सम्पदाको विषय पनि छन्। १ सय ८२ पृष्ठको पुस्तकको मूल्य ३ सय २५ रुपैयाँ छ।