जिएमसीमा ताला, शोषण गरेको विद्यार्थीको आरोप

पोखराको गण्डकी मेडिकल कलेज(जिएमसी)मा अध्ययनरत विद्यार्थी कलेजले आर्थिक शोषण गरेको भन्दै आन्दोलनमा उत्रिएका छन् । कलेजले विभिन्न बहानामा अतिरिक्त शुल्क लिएको उनीहरुको आरोप छ ।

२०७२ भदौ ३१ गते भएको निर्णयबाट उपत्यका बाहिरका निजी मेडिकल कलेजले ४२ लाख ४५ हजार शुल्क लिन पाउछन् । तर जिएमसीले ५६ लाखसम्म तिर्न बाध्य बनाएको विद्यार्थी तथा अभिभावकको गुनासो छ । बढी लिएको शुल्क फिर्ता गर्न र नयाँ विद्यार्थीलाई पनि बढी शुल्क नलिन माग गर्दै एमबिबिएस, बिएस्सी नर्सिङ, बिएन लगायतका विद्यार्थी शुक्रबार आन्दोलनमा उत्रेका हुन् ।

उनीहरुले बिहीबार अस्पतालको प्रशासन कार्यालयमा ताला लगाएका थिए । विद्यार्थी भर्ना गर्दा नै इन्टर्नसीप भन्दै सुरुमै थप शुल्क लिने गरेको विद्यार्थीको दाबी छ । विद्यार्थीले अतिरिक्त शुल्क तुरुन्त फिर्ता गर्ने, सरकारी निर्णय कार्यान्वयन गर्न, विद्यार्थीहरुले तिरेको सम्पूर्ण रकमको बिल उपलब्ध गराउन र शुल्क भुक्तानीको विषयलाई लिएर विद्यार्थीलाई परीक्षामा सामेल हुने र परीक्षाफल हेर्न रोक नलगाउन माग गरेका छन् ।

यता कलेज प्रशासनले भने अतिरिक्त शुल्क नलिएको दाबी गरेको छ ।