रेस्टुरेन्ट संघको निर्णयका विरोधमा मंगलबारबाट देशभरका रेस्टुरेन्टहरु बन्द

सेवा शुल्क नउठाउने रेस्टुरेन्ट संघको निर्णयका विरोधमा प्रमुख तीन वटा मजदुर संगठनहरुले आगामी मंगलबारबाट देशभरका रेस्टुरेन्टहरु अनिश्चितकालीन बन्दको घोषणा गरेका छन्।

सत्तारुढ दलका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई मजदूर संगठनहरु अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघ, नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघ र नेपाली कांग्रेसको नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघले विज्ञप्ति जारी गर्दै मंगलबारदेखि अनिश्चितकालीन बन्दको घोषणा गरेका हुन्।

यसअघि नेपाल रेस्टुरेन्ट एन्ड बार एसोसिएसन(रेबान)ले १० प्रतिशत सेवा शुल्क नउठाउने घोषणा गरेको थियो । जसका विरुद्ध मजदूर संगठनहरुले चरणबद्ध आन्दोलनका घोषणा गर्दै आएका छन्।

उनीहरुले आइतबार सेवा शुल्क नउठाउने रेबानको निर्णयविरुद्ध कोणसभा गर्ने जनाएका छन्।

संघका महासचिव मुक्ति दाहालले रेबानको निर्णयले यसअघि भएको सम्झौता र श्रम ऐन, २०७४ मा सामुहिक सौदावाजीका सम्बन्धी व्यवस्था उल्लंघन गरेको बताए। दाहालले यसविरुद्ध अनिश्चितकालीन बन्दसहितका आन्दोलनको घोषणा गरेको बताए।

‘श्रमिकहरुले खाइपाइ आएको सेवा सुविधालाई घटाउने गरी कुनै पनि काम गर्न नपाइने व्यवस्थालाई रेबनले रोक्न खोजेको छ,’ दाहालले भने, ‘सेवा शुल्कका कारण हिसाब किताब पारदर्शी गर्नुपर्ने र त्यसैअनुसार सरकारलाई कर तिर्नु पर्ने हुन्छ। आफ्नो हिसाब किताब पारदर्शी नहोस र कर छल्न पाइयोस भन्ने रेबनका पदाधिकारीहरुको उद्देश्य देखिन्छ।’

२००८ जनवरी ३० बाट रेबान र मजदुर संगठनबीच सहमतिपछि रेस्टुरेन्टका विलका १० प्रतिशत सेवा शुल्क लिन थालिएको हो ।