केसीको अनसनका कारण विरामी समस्यामा परे भन्दै सर्वसाधरण आन्दोलित

 डा. गोविन्द केसीको जिद्दीपूर्ण अनसनका कारण विरामी र विरामीका आफन्तहरु समस्यामा परेको भन्दै आक्रोशित सर्वसाधरण डा. केसीको अनसनविरुद्ध खनिएका छन् ।

डा. केसीको अनसनका कारण हजारौं विरामीले सेवा नपाएको, विरामीका आफन्तहरुले तनाव झेल्नु परेको भन्दै आक्रोशित विरामी, आफन्त र सर्वसाधरणले टिचिङ अस्पतालमा प्रदर्शन गरेका हुन् । उनीहरुले डा. केसीका माग र अनसनविरुद्ध चर्का नाराबाजी समेत गरेका छन् ।

टिचिङ अस्पतालका चिकित्सक समेत सहभागी भएको विरोध प्रदर्शनमा सर्वसाधरणले ‘माफियामुखी अनसन चाँहिदैन, अस्पतालमा अनसन बस्न पाइँदैन, बिदेशी शक्ति मुर्दावाद, माफियामुखी केसीको अनसन चाँहिदैन लगायतका नारा लगाएका छन् । उनीहरुले अस्पताललाई शान्ति क्षेत्र घोषणा गर्न समेत माग गरेका छन् ।

इलामबाट १६ औं अनसन शुरु गरेका डा. गोविन्द केसीको अनसन २३ दिन भइसकेको छ । डा. केसीको अनसनका कारण खलबलिएको टिचिङ अस्पतालको सेवाका कारण सर्वसाधरण ठूलो मारमा परिरहेका छन् । केसीको माग पूरा गराउने नाममा अस्पतालको सेवा नै छोडेर चिकित्सकहरु सडक आन्दोलनमा जाने गरेका कारण विरामीले उपचार सेवा पाउन सकिरहेका छैनन् ।

ठूलो आर्थिक भार उठाएर उपचारका लागि टिचिङ अस्पताल आएका देशका विभिन्न जिल्लाका विरामी र विरामीका आफन्त चिकित्सकले विरामीको अवस्थालाई वेवास्ता गर्दै आन्दोलनमा हिंड्ने गरेका कारण आक्रोशित बन्दै आएका छन् । डा. केसीको अनसनलाई सहयोग पुर्‍याउने नाममा टिचिङका चिकित्सकको एक समूह विरामीको सेवामा भन्दा सडकको नाराबाजीमा रमाइरहेको छ ।

उनीहरुले गम्भीर अवस्थाका विरामीहरुलाई समेत नहेरी ‘आन्दोलनको बेलामा के को उपचार ?’ भन्दै विरामीका आफन्तहरुमाथि रुखो व्यवहार गर्न थालेपछि सर्वसाधरण, विरामी र विरामीका आफन्तहरु आक्रोशमा आएका हुन् ।

सरकारी सुविधा खाएर विरामीको उपचारमा संलग्न हुनुपर्ने डाक्टर दिनहुँ आन्दोलन भन्दै बाहिर जाने गरेका कारण वाध्य भएर कर्तव्य भुलिरहेका डाक्टरहरुविरुद्ध आन्दोलनमा उत्रिनु परेको एक विरामीका आफन्तले बताए ।

यता यसैबीच कांग्रेस निकट रहेका विभिन्न संघ संगठनले पनि डा. केसीको जीवन रक्षाको माग गर्दै आजै काठमाडौंको माइतीघरमा प्रदर्शन गर्ने तयारी गरेका छन् ।

चिकित्सा शिक्षा क्षेत्रको सुधारको मागसहित डा. केसीको सत्याग्रह २३ औं दिन हुँदा समेत माग सम्बोधनका लागि सरकार गम्भीर नदेखिएको भन्दै दवावस्वरुप प्रदर्शन गर्न लागेको उनीहरुले बताएका छन् ।