दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ३५ वर्षीय मूर्तिकार रोजन राईलाई पछिल्लो समय मूर्ति तथा प्रतिमा निर्माणको कामले भ्याइनभ्याइ छ । शुरुमा बाँसको जराबाट जिल्लामै विभिन्न जीवजन्तु तथा देवीदेवताका मूर्ति बनाउँदै आएका उनका मूर्तिको माग पछिल्लो समय विदेशमा पनि बढेकाले भ्याइनभ्याइ भएको छ ।
नेपालको विभिन्न जिल्लाका साथै भारतको सिक्किम र हङकङमा समेत पुगेर मूर्ति निर्माण गरिसकेका राईले अहिले फाइवर, ढुङ्गा, माता तथा पित्तल, धलौट, सिमेन्ट, काठ तथा बाँसलगायत कच्चा पदार्थ प्रयोग गरेर सबै किसिमका मूर्ति निर्माण गर्छन् । बुबा मनदत्त राई र आमा धनकुमारी राईको जेठो छोरा रोजन सानै उमेरदेखि मूर्तिकलामा चासो राख्ने व्यक्ति रहेको उनका छिमेकी बताउँछन् ।
बीस वर्षदेखि मूर्ति निर्माणको पेशा अँगाल्दै आएका राईले अहिलेसम्म हजारौँ मूर्ति तथा प्रतिमा निर्माण गरेका छन् । “विशेषगरी संस्कृतिसम्बन्धी मूर्ति निर्माणको माग बढी आउँछ”, उनी भन्छन्, “अहिले हङकङकमा पठाउनका लागि काम भइरहेको छ, यो सक्ने बित्तिकै अमेरिका, बेलायतलगायत देशमा गएर मूर्ति बनाउनुपर्ने छ ।”
धनकुटाको भेँडेटारमा कला उद्योग, आर्ट स्टुडियो र ग्यालरी रिसोर्टसमेत सञ्चालन गरेका मूर्तिकार राईले आफ्नो मासिक कमाइ रु दुई लाख ५० हजारसम्म हुने गरेको बताए । “नौ कामदारलाई खाना तथा खाजा खुवाएर मासिक रु १५ हजार तलब दिनुपर्छ ।”, “बढ्दो महङ्गीमा पनि सबैथोक कटाएर मासिक रु दुई लाख ५० हजारसम्म बचत हुन्छ ।”
मूर्तिकार राईले काठमाडौँको शङ्खमुलस्थित वाग्मती किनारमा देशकै सबैभन्दा ठूलो शङ्खको मूर्ति, कोटेश्वरमा रैछाकुलेको प्रतिमा, खोटाङको हलेसीस्थित तुवाचुङ जायाजुङमा तायामा, खियामा र रैछाकुलेको प्रतिमा, धनकुटामा हिलेको तुङ्बा, भेँडेटारमा शङ्ख मन्दिर, धरानको यलम्बर पार्कमा यलम्बर राजाको प्रतिमा, पार्खीबासमा बुद्धको मूर्ति, दिक्तेलको भुलभुलेमा बुढानिलकण्ठको मूर्ति, विभिन्न जिल्लामा शहीदका प्रतिमा निर्माण गरेका छन् ।
नेपालका प्रायः सबै जिल्लामा पुगेर मूर्ति तथा प्रतिमा निर्माण गरेका राईले भारतको सिक्किममा सुम्निमा÷पारुहाङ, यलम्बर, किरातेश्वरलगायत १०० भन्दा बढी मूर्ति निर्माण गरिसकेका छन् ।
मूर्तिकार राईले आफ्नो पेशासँगै नेपालका विभिन्न जिल्लामा पुगेर दर्जनौँ युवालाई हस्तकलासम्बन्धी तालीम दिएर स्वरोजगार पनि बनाएका छन् । उनले तालीम िदएका कतिपय युवाले फर्म नै खोलेर हस्तकलासम्बन्धी काम गरिरहेका छन् ।
पछिल्लो समय नेपालकै सबैभन्दा ठूलो बुद्धको मूर्ति तथा बुद्ध पार्कको नमूना र प्रतिमा निर्माणका काम थालिएको राईको भनाइ छ । धरानको भेँडेटारमा निर्माण गरिने उक्त मूर्ति र पार्क आगामी तीन वर्ष्भित्र पूरा हुने जनाइएको छ ।
“हाम्रो देश पर्यटकीय क्षेत्रको हिसाबले समृद्ध छ”, उनी भन्छन्, “सरकारको ध्यान जान सकेमा पर्यटनबाट नै मनग्य आम्दानी गर्न सकिन्छ ।”
हस्तकलाका माध्यमबाट नेपालका आदिवासी जनजातिको संस्कार÷संस्कृति संरक्षण तथा प्रवद्र्धनमा मूर्तिकार राईले महत्वपूर्ण भूमिका निर्वाह गरेवापत नेपाल आदिवासी जनजाति महासङ्घले पनि सम्मान गरेको छ ।






