उच्च अदालत पोखराले पोखरा विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पदाधिकारीको काम कारबाही नरोक्न आदेश दिएको छ । अदालतले बुधबार यसअघि जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।
स्ववियु सभापतिसहित ३ जनाले माघ ३ गते दायर गरेको रिटमा ४ गते अदालतले अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीशद्वय जीवनहरि अधिकारी र सुभाष पौडेलको इजलासले यस्तो आदेश जारी गरेको हो ।
अब स्ववियु पदाधिकारीले निरन्तर काम गर्न पाउने भएका छन् । पियुलाई विपक्षी बनाएर स्ववियु सभापति सुनील तिमिल्सिना, सचिव सुरज परियार र सदस्य प्रकृति दवाडीले रिट दायर गरेका थिए । ‘विश्वविद्यालयको पछिल्लो सभाले गरेको निर्णय अनुसार कार्यकारी परिषदले स्ववियुको पदावधि थप गर्ने÷नगर्ने सम्बन्धमा निर्णय गरी सभामा पेस नगरुन्जेल वा यो निवेदनको टुंगो नलागेसम्म जुन पहिला हुन्छ सो अवधिसम्म स्ववियुका तर्फबाट गरी आएका कामकारबाही गर्न कुनै प्रकारको अवरोध नगर्नू,’ आदेशमा उल्लेख छ ।




