दास, लेखनदास हुँदै लेखक भन्न थालियो : सायमी

लेखक प्रकाश सायमी बुधबार पोखरामा पाठकमाझ उभिए । भर्खरै प्रकाशित आफ्नो नयाँ कृति काठमाडौं मोन्ताज्को परिचर्चाका लागि उनी पोखरामा थिए । उनलाई सहजकर्ताको रुपमा उभिएर साथ दिँदै थिए अनुज कुलुङ ।

‘पहिले—पहिले लेखकलाई दासको रुपमा लिइन्थ्यो,’ स्टेजमा चढेपछि सायमी गफिन सुरु गरे, ‘लेखकलाई लेखक होइन लेखनदास भनिन्थ्यो । विशेष गरी भारतमा ।’ आजकाल लेखकलाई उपल्लो दर्जामा राखिने उनले सुनाए । तर, आजकल आफ्नो कला देखाउने माध्यम धेरै भए पनि मेहेनत घट्दै गएको भन्दै उनले गुनासो गरे । ‘किताब लेख्नुभन्दा पहिले नै यो लेख्दै छु भनेर सामाजिक साजिक सञ्जालबाट थाहा हुन्छ,’ उनले भने ।

‘तपाईंले सम्मान गरेर दिएको पुरस्कार पनि लिनु भएन भनेर मैले पढेको थिएँ । तपाई पुरस्कारको विरोधी हुनुहुन्छ हो ?’ सहजकर्ता अनुजले प्रश्न तेस्र्याए । उनको प्रश्न सुनिसकेपछि सायमी मुसुक्क मुस्कुराए ।

‘हो,’ सायमी मुस्कुराउँदै थिए, ‘मैले पुरस्कार अस्वीकार गरेको हो । मेरो बदलामा अर्कैलाई सिफारिस गरें । तर, उहाँले पनि पाउनु भएन त्यो पुरस्कार । उहाँको उमेर हदबन्दीका कारण उहाँले पुरस्कार पाउनु भएन ।’ पुरस्कारले प्रतिभाको सम्मान हुन्छ मान्यता उनले सुनाए । ‘कलाकारलाई हौसला मिल्छ । तर, म पुरस्कार लिन्नँ,’ उनले भने ।