शुक्रराजको स्वर्ण महोत्सवमा विविध कार्यक्रम

शिक्षा सचिव खगराज बरालले कम बिद्यार्थी हुँदा विद्यालयमा भ्रष्टचार हुने गरेको बताएका छन् । पोखरा महानगरपालिका २२ पुम्दीभुम्दी स्थित शुुक्रराज माविको स्वर्ण महोत्सव बुधबार समापन गर्दै शिक्षा सचिव बरालले बिद्यार्थी कम हुँदा बिद्यालय मर्ज गर्नुपर्ने औंल्याए । अन्यथा बिद्यालयमा भ्रष्टचार हुने उनको भनाइ छ ।

बरालले भने, ‘सामुदायिक विद्यालयमा हाल क्रमिक रुपमा विद्यार्थी संख्या घट्दो क्रममा छ, अब यस्ता अवस्थामा कम विद्यार्थी भएपछि मर्ज सिस्टममा जानुपर्छ, धेरै बिद्यार्थी हँुदा धेरै विद्यालय आवश्यक पर्छ, अन्यथा शिक्षाको नाममा अनियमितता हुने गर्छ ।’ विद्यार्थी कम शिक्षक धेरै हुने विद्यालयलाई अब सरकारले बजेट निकासा गर्न नसक्ने उनले बताए । शुक्रराजमा सञ्चालित प्राविधिक शिक्षा पशु विज्ञान (भेटेरिनरी) को विकासमा आफले सक्दो सहयोग गर्ने उनले आश्वासन दिए ।

कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि सहयोग गर्ने टेकबहादुर गुरुङ, गोविन्दप्रसाद बराल, कृष्णप्रसाद पौडेल, डम्मरसिंह गुरुङ, रेशम गिरी, लाल गुरुङ लगायतलाई सम्मान गरिएको थियो । विद्यालयमा अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट छात्रवृत्ति वितरण गरिएको छ । सहिद दिवसको अवसरमा विद्यालयको वार्षिकोत्सवसमेत भएकाले बुधबार पुरस्कार वितरण गरिएको शिक्षक होतराज बरालले बताए ।

प्रभु बैंकले २ लाख बराबरको बिद्यार्थीका लागि खाजा प्रायोजन गर्ने भएको छ भने लुम्बिनी विकास बैंक छोरेपाटन शाखाले ५० हजार बराबरको जिन्सी सहयोग गर्ने भएको छ । शाखाका प्रमुख तथा पूर्व विद्यार्थी रामचन्द्र बराल शाखाको तर्फबाट सहयोग गर्ने वचन दिएका हुन् ।

३ दिन चलेको स्वर्ण महोत्सवको विषेश कार्यक्रम सम्पन्न सहयोग गर्नेहरुप्रति विद्यालय व्यस्थापन समिति अध्यक्ष एंव गण्डकी प्रदेशसभा सदस्य रामजी बराल ‘जीवन’ले धन्यवाद दिएका छन् । विद्यालयको शैक्षिक गुणस्तरलाई अझ बढाउँदै लैजाने प्राचार्य नरनाथ बरालले प्रतिवद्धता गरे ।