रमितको पारिश्रमिक १८ लाख

दशक अगाडि नेपाली फिल्ममा आफ्नो दबदबा कायम गरेका अभिनेता रमित ढुंगाना केही वर्षदेखि काँचको पर्दाबाट टाढा छन् ।

पछिल्लो रिलिज फिल्म ‘बुद्ध वर्न इन नेपाल’ पछि उनी अभिनीत कुनै फिल्म प्रदर्शनमा आएका छैनन् र कुनै फिल्ममा काम पनि गरेका छैनन् । ‘बुद्ध वर्न इन नेपाल’ को च्यारिटीमा पनि उनी लामो समय व्यस्त थिए ।  यसबीच रमितले करीब २ वर्षपछि एक फिल्म साइन गरेका छन् ।

यही माघ १४ गते निर्मात्री र अभिनेत्रीबीच औपचारिक रुपमा कागजी सम्झौता भएको छ । बिचल किराँतीको निर्देशन रहने अनटाइटल फिल्ममा उनले १८ लाख पारिश्रमिक बुझेका छन् । फिल्मको छायांकन चैत पहिलो साताबाट सुरु हुँदैछ ।  

 फिल्मलाई सरु राईले निर्माण गर्नेछिन् । रमितले कथावस्तु मन परेर काम गर्न राजी भएको बताए । उनले भने, ‘धेरैपछि मलाई स्क्रिप्ट मनपर्‍यो । मैले निभाउने चरित्र पनि गजब लाग्यो । निर्देशकको ‘कन्फिडेन्ट’ ले गर्दा पनि फिल्म छाड्न सकिनँ ।’

उनले फिल्मका लागि आफूले निकै मेहनत गर्नुपर्ने बताए ।  ‘मेरो क्यारेक्टर हिरो पनि हो, हल्का साइको पनि छ । फिल्ममा कमेडी र एक्सन पनि छ’, उनले अगाडि भने, ‘स्क्रिप्ट कमालको छ । मेरो भूमिकाले दर्शकलाई निराश बनाउँदैन भन्ने लागेपछि फिल्म गर्न तयार भएको हुँ ।’ फिल्ममा उनको अपोजिटका लागि अहिले निर्माण टिमले अभिनेत्री खोजिरहेको छ । 

 ‘किराँती ईन्टरटेनमेन्ट’ ब्यानरमा फिल्म बन्ने छ । यो फिल्मपछि रमित आफ्नै होम प्रोडक्सनबाट फिल्म ‘पृथ्वीनारायण शाह’ बनाउने तयारीमा छन् । तर, ठूलो ‘सब्जेट’ भएका कारण उक्त फिल्म निर्माण हुन केही समय अझै लाग्ने उनले बताए । एक्सन हिरोको रुपमा चिनिने रमितले एकसमय थुप्रै हिट हिट दिएका थिए ।