अमेरिकाले दादागिरी देखायो : सापकोटा

अखिल क्रान्तिकारी गण्डकी प्रदेशले सोमबार पोखराको जनप्रिय बहुमुखी क्याम्पस अगाडि पम्प्लेट प्रदर्शन एवं कोणसभा गरेको छ । भेनेजुयलाको पछिल्लो राजनीतिक गतिरोध र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चालेको कदमबिरुद्ध प्रदर्शन गरिएको हो ।

कोणसभामा अखिल क्रान्तिकारी गण्डकी प्रदेश संयोजक क्षितिज सापकोटाले बोल्न पाउने अधिकार सबैलाई रहेको बताए । उनले आफूहरु भेनेजुयलाको जनताको पक्षमा रहेको बताए । सापकोटाले भने, ‘के सानो राष्ट्र स्वाधीन हुन सक्दैन ? सधैं शक्तिशाली राष्ट्रको भय, डर र छत्रछायाँमा उभिनुपर्ने नियति हो ?’

उनले अमेरिकाले दादागिरी गरेको आरोप लगाउँदै यो कदम अलोकतान्त्रिक भएको बताए । अखिल क्रान्तीकारी केन्द्रीय सचिवसमेत रहेका सापकोटाले आफूहरु न्याय, भेनेजुयलाको जनता र लोकतन्त्रको पक्षमा रहेको बताए । कार्यक्रममा अखिल क्रान्तिकारी पोखरा महानगर अध्यक्ष विशाल तामाङले पनि बोलेका थिए ।