दीपक मनाङे अब माननीय

गण्डकी प्रदशसभामा निर्वाचित भएर पनि सपथ नपाएका राजीव गुरुङ (दीपक मनांगे)ले सोमबार सपथ लिएका छन् । गण्डकी प्रदेशका प्रदेशसभा सभामुख नेत्र अधिकारीले उनलाई सपथ गराएका हुन् ।

स्वतन्त्र उम्मेदवार बनेका उनलाई वाम गठबन्धनले समर्थन गरेको थियो । राप्रपाबाट राजनीति सुरु गरेका उनी कांग्रेस हुँदै तत्कालीन एमाले प्रवेश गरेका थिए । एमालेले पनि टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका उनलाई अन्तिममा वाम गठबन्धनले उम्मेदवारी फिर्ता लिएर सघाएको थियो ।

ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा निर्वाचित भएपछि पनि उनी जेल परेका थिए । नयाँ मुलुकी ऐनमा व्यवस्था भएको प्रावधान अनुसार उनी जेल मुक्त भएका थिए । जेल मुक्त भएपछि उनले गण्डकी प्रदेशसभामा आएर सपथ पाऊ भनी निवेदन दिएका थिए । यसअघि विपक्षी कांग्रेसको विरोधका कारण उनको सपथबारे निर्णय हुन सकेको थिएन ।