४ वेद १८ पुराणका रचयिता महर्षि वेदव्यासको बारेमा विद्यार्थीलाई जानकारी दिने उद्देश्यले तनहँुको व्यास नगरपालिकाभित्र ‘महर्षि वेदव्यास’ सम्बन्धी पढाइ सुरु भएको छ ।
व्यास नगरपालिका भित्रका सामुदायिक, संस्थागत विद्यालय, कलेज तथा क्याम्पसमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई महर्षि वेदव्यास र पराशरको बारेमा जानकारी दिने उद्देश्यले पढाई सुरु गरिएको व्यास नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख अम्बिका आचार्यले जानकारी दिए ।
गत साउनमा बसेको व्यास नगर कार्यपालिकाको बैठकले नगरपालिका भित्रका विद्यालयमा व्यासको बारेमा जानकारी दिने पाठ्यक्रम लागु गर्ने निर्णय बमोजिम अतिरिक्त पाठ्यक्रमकोरुपमा विद्यालयमा यस सम्बन्धी पढाई सुरु भएको आचार्यले बताए ।
उनले भने, ‘यस वर्ष कक्षा ११ मा अतिरिक्त पाठ्यक्रमको रुपमा नगरपालिकाका विद्यालयमा महर्षि वेद व्यासको पढाई सुरु भएको छ, अर्को वर्ष कक्षा १२ मा पनि निरन्तरता दिन्छौँ ।’ व्यासको जन्मभूमि र पराशर ऋषिको तपोभूमि यस ठाउँको महत्वको बारेमा नयाँ पुस्तालाई जानकारी दिने उद्देश्यले पाठ्यक्रम निर्माण गरिएको उनले बताए ।
उनले भने, ‘व्यास नगरपालिका व्यासको जन्मभूमि तथा पराशरको तपोभूमि भएकाले यहाँका विद्यार्थीले महर्षि वेदव्यास र पराशरको बारेमा जानकारी राखेर देश विदेशमा व्याख्या गर्ने सक्ने बनाउने उद्देश्य राखेका छौं ।’ उनका अनुसार स्थानीय पाठ्यक्रम अनुसार आधारभूत तहमासमेत अतिरिक्त अध्ययनको रुपमा व्यास पराशरको बारेमा अध्ययन सुरु गर्ने योजना बनाइएको छ ।
व्यासका अध्येता काशीनाथ न्यौपानेद्वारा लिखित ‘महर्षि वेदव्यास’ पुस्तकमा व्यासको जन्मभूमि, व्यासको जन्मको विषय, पराशर ऋषिको कर्मस्थल, सत्यवती, दशराज माझी लगायत पात्रको बारेमा उल्लेख गरिएको छ ।
विद्यार्थीहरुले उक्त पुस्तक पढेपछि व्यास क्षेत्र र पराशरको बारेमा बुझाउन सक्ने विश्वास लिइएको छ । नगरपालिका भित्र कक्षा ११ सञ्चालन भएका १४ वटा विद्यालयमा पाठ्यक्रम निर्माण गरेर पढाई सुरु भएको व्यास नगरपालिकाका स्रोत व्यक्ति नारायणदत्त पौडेलले बताए ।
शैक्षिक सत्र २०७५ बाट कक्षा ११ मा व्यासको विषय थप विषय समावेश गरिएको हो । विद्यालयले सातामा ३ वटा कक्षा ‘महर्षि वेदव्यास’ को पुस्तक अध्यापन गराउने व्यवस्था मिलाएका छन् । कक्षा ११ का लागि तयार गरिएको उक्त पाठ्यपुस्तक विद्यालयमा हुने आन्तरिक परीक्षामा ५० अंकको रहने र कक्षा १२ को लागि छुट्टै नयाँ पुस्तक प्रकाशन गर्ने तयारी गरिएको छ ।
अतिरिक्त विषयको अध्ययन सुरु गरिएको विषयले विद्यार्थीलाई व्यासको बारेमा जानकारी प्रदान गर्नुका साथै व्याख्या गर्न सहयोग पुग्ने दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले बताए ।
श्रीकृष्ण द्वैपायनको २८ आंै अवतारको रुपमा महर्षि वेदव्यासको तनहुँको दमौलीमा जन्म भएको धार्मिक किंबदन्ती छ । धार्मिक किंबदन्तीलाई विभिन्न शास्त्रीय प्रमाणलेसमेत प्रमाणित गरेको व्यासका अध्ययेता काशीनाथ न्यौपाने बताउँछन् । उनका अनुसार महर्षि वेदव्यास मात्रै नभएर व्यासका पिता पराशर र उनकी माता सत्यवतीकोसमेत दमौलीमा कर्मस्थल भएको धार्मिक किंवदन्तीमा व्याख्या गरिएको छ ।





