युएस–बंगला एयरलाइन्स : ककपिटभित्रै चुरोट सेवन, असावधानीपूर्ण ल्याण्डिङ

गत वर्ष फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस–बंगला एयरलाइन्सको विमान दुर्घटना भएको थियो । जुन दुर्घटनाले ५१ जना यात्रुको ज्यान गएको थियो । युएस–बंगला विमान दुर्घटना भएपछि विश्वभर नेपालको हवाई सुरक्षालाई लिएर धेरै खाले टिकाटिप्पणीहरु भएका थिए । यसबीचमा विमान दुर्घटनाको अनुसन्धान गर्न गठित आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा उडानको क्रममा पाइलट मानसिक तनावमा भएको ,एअर ट्राफिक कन्ट्रोलरसँगको कुराकानीमा अन्योल हुनु नै दुर्घटनाको मुख्य कारण उल्लेख छ ।

पाइलट अविद सुल्तानले ककपिटभित्रै चुरोट पिएको दावी प्रतिवेदनमा उल्लेख छ । उनले विमानभित्र अनावश्यक खालका कुराकानीहरु गरेको र संवेदनशील ढंगबाट विमान नउडाएको पनि प्रतिवेदनमा उल्लेख छ । उनले विमान अवतरण गर्न लाग्दा विमानलाई तयारी गर्नुपर्ने कुरामा हेलचक्र्याइँ गरिएको निश्कर्ष निकालेको छ । अवतरण गर्नुअघि संवेदनशील भएर विमानलाई जुन अवस्थामा राखेर रन-वेमा ल्याउनुपर्ने हो, त्यस्तो नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ । असावधानीपूर्ण विमान ल्याण्डिङ गराएको कारण धावनमार्गबाट बाहिर गएर दुर्घटनामा परेको जनाएको छ ।

यस्तै नेपाली एयर ट्राफिक कन्ट्रोलरले पनि विमान सुरक्षाको लागि अधिकतम् प्रयास गर्नुपर्नेमा त्यसमा कमजोरी भएको पाइएको छ । विशेष गरी रन(वेको कुन भागबाट ल्याण्डिङ गराउने भन्ने विषयमा ट्राफिक कन्ट्रोलर र पाइलटबीच भएको सम्वादले यसलाई पुष्टी गर्ने प्रतिवेदनले जनाएको छ । तथापी एयर ट्राफिक कन्ट्रोलरले विमान दुर्घटनाबाट नै बचाउन सक्ने अवस्था भने नरहेको बताईएको छ । साथै दुर्घटनापछि भएको आगलागी नियन्त्रण गर्न सक्ने अवस्था हुँदा पनि पर्याप्त सावधानी नअपनाइएको कारण धेरैले ज्यान गुमाएको निष्कर्ष छ ।

दुर्घटना भएको ६ सेकेन्डमा मात्र आगो सल्किएको र दुर्घटनामा क्षति न्यूनिकरण गर्न का लागि पर्याप्त सावधानी नअपनाइएको प्रतिवेदनमा उल्लेख छ । पाइलटको मेडिकल रिपोर्ट अनुसार बंगलादेश एअरफोर्समा काम गर्दा १९९३ मा डिप्रेसनको समस्याबाट ग्रसित रहेको र यसैका कारण सेवामुक्त भएको पनि प्रतिवेदनमा उल्लेख छ।

तर २००२ मा चिकित्सकले उनलाई पुनः उडानका लागि योग्य ठहर गरेको थियो प्रतिवेदनमा उल्लेख छ । बिषेशगरी पाइलट अविद सुल्तान मानसिकरुपमा बिक्षप्त भएको कारण नै विमान दुर्घटनाको मुख्य कारण बताईएको छ । युएस–बंगला एयरलाइन्सको विमान दुर्घटनामा २८ बंगलादेशी, २२ नेपाली र एक चिनियाँ नागरिकको ज्यान गएको थियो भने २० जना गम्भीर घाइते भएका थिए।