अमेरिकासँग वार्ता गर्दै अन्तर्रांष्ट्रिक आतंकवादी तालिबान

अफगानिस्तानमा युद्धरत तालिबान विद्रोही समूहले कतारको दोहामा रहेको राजनीतिक कार्यालयको नयाँ प्रमुखमा तालिबानका सहसंस्थापक मुल्लाह अब्दुल घानी बरादरलाई नियुक्त गरेको छ ।

अफगानिस्तानमा विगत १७ वर्षदेखि जारी युद्धको अन्त्यको उपाय पहिल्याउन संयुक्त राज्य अमेरिकासँग दोहामा सोमबारदेखि सुरु भएको वार्तामा बरादर सहभागी हुनेछन् । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बिहीबार जारी गरेको विज्ञप्तिमा तालिबानका वरिष्ठ सदस्य मुल्लाह अब्दुल घानी बरादरलाई नियुक्त गरिएको उल्लेख छ । विज्ञप्तिमा बरादरलाई दोहा कार्यालयको प्रमुखका रूपमा जिम्मेवारी दिएको जनाइएको छ ।

दोहामा अमेरिकी अधिकारीहरूसँग चार दिनदेखि प्रत्यक्ष वार्ता गरिसकेपछि पछिल्लो घोषणा गरिएको छ । दुबै पक्षबीच शुक्रबार वार्ता हुने नहुने बारेमा स्पष्ट भइसकेको छैन । विश्लेषकहरूले ‘अभूतपूर्व’ भनेको उक्त वार्तापछि कुनै किसिमको सहमति हुने आशा पलाएको बताएका छन् । वार्ताले अफगान मामिलामा विस्तृत शान्ति सम्झौताका लागि मार्गप्रशस्त गर्ने विश्वास गरिएको छ ।

तर अमेरिकाले वार्ताका बारेमा कुनै प्रतिक्रिया दिएको छैन, तर अमेरिकाले मंगलबार अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजाद र तालिबानका प्रतिनिधिबीच कतारमा वार्ता गरिएको पुष्टि गरेको छ । वार्तामा सहभागी नबनाएकामा असन्तुष्टि जनाएका अफगानी अधिकारीहरूले कुनै सहमति गर्दा अफगान सरकारलाई सामेल गराउनै पर्ने चेतावनी दिएको छ ।

विगतमा दोस्रो नम्बरका नेता बरादरले तालिबान आन्दोलनका संस्थापक एवं सन् २०१३ मा निधन भएका मुल्लाह ओमारलाई समर्थन गरेका थिए । सन् २०१० मा पाकिस्तानमा पक्राउ परेका बरादरलाई दोहामा पहिलो वार्ता सुरु भएलगत्तै गत अक्टोबरमा रिहा गरिएको थियो । दोहामा तालिबान र अमेरिकी विशेषदूत खलिलजादबीच भएको पहिलो वार्तामा पनि बरादर सहभागी भएको विश्वास गरिन्छ, तर दुवै पक्षले यस बारेमा केही खुलाएका छैनन् ।