सबैको ज्यान बचाउने ‘ब्लड’,संसारभर ४३ जनासँग मात्रै छ

‘गोल्डेन ब्लड’ सुन्दासाथ सबैलाई महँगो वस्तुको याद आउँछ । यो रगतको दुर्लभ समूह हो, जुन संसारमै थोरै मान्छेमा मात्र पाइन्छ ।

यही कारण पनि यो रक्तसमूहका मान्छेको सम्झना जोकोहीलाई भइहाल्छ । तर, यही रक्त समूहका मान्छे भने कैयौँ पटक जीवन–मरणको दोसाँधमा पुगेका छन् ।

जुन ब्लड ग्रुपलाई गोल्ड ब्लड भनिन्छ, त्यसको वास्तविक नाम ‘आरएच नल’ हो । के हो त आरएच नल, यो किन यति महँगो हुन्छ ? यो ब्लडग्रुप भएका मानिसलाई कस्तो खतरा हुन्छ ? यी प्रश्नहरुको जवाफ पाउनुअघि हामीले ब्लडग्रुपको वर्गीकरण बुझ्नु जरुरी हुन्छ । 

रगत जुन रक्तकोसिकाहरुबाट बनेको हुन्छ, त्यसको माथितिर प्रोटिन टाँसिएको हुन्छ । त्यसलाई एन्टिजन भनिन्छ । ब्लड ग्रुप ए मा एन्टिजन ए नै हुन्छ भने बी मा केवल बी । ग्रुप एबी मा दुवै हुन्छ । र, ओ मा दुवै हुँदैन ।

रातो रक्तकोसिकामा एउटा अर्को प्रकारको एन्टिजन पनि हुन्छ, यसलाई आएचडी भनिन्छ । यो एन्टिजन ६१आरएच प्रकारको एन्टिजनको समूहको हिस्सा हुन्छ । जब रगतमा आरएचडी हुन्छ, यसलाई पोजिटिभ भनिन्छ । आरएचडी नभएमा नेगेटिभ भनिन्छ । 

यसरी सामान्य ब्लड ग्रुप पहिचान गरेर तिनको वर्गीकरण ए–, बीं, बी–, एबीं, एबी– तथा ओ– मा गरिन्छ । कसैलाई रगत आवश्यक परेमा त्यसको समूह पत्ता लगाएरमात्रै दिइन्छ । कुनै नेगेटिभ रगत भएका मानिसलाई पोजिटिभ रगत चढाइयो भने उसको ज्यान जान सक्छ ।

किन यस्तो हुन्छ ? किनकी, सम्बद्ध व्यक्तिको शरीरको एन्टिबडिजले अमिल्दो रगतलाई अस्वीकार गरिदिन्छ । 
यही कारण पनि ओ– रक्त समूहलाई युनिभर्सल डोनर भनिन्छ । ओ– मा न त एन्टिजन ए, बी हुन्छ न त आरएचडी नै । यस्तो रगत बिनाकुनै अस्वीकृति अन्य रक्त समूहका मानिसमा सहजै घुलमिल हुन्छ ।

खतरनाक गोल्डेन ब्लड

रगतको जति पनि सम्मिश्रण छ, त्यसमा आरएच नल सबैभन्दा पृथक छ । कसैको रेड ब्लड सेलमा आरएच एन्टिजन छँदैछैन भने उसको रक्त समूहलाई आरएच नल मानिन्छ ।

बायोमेडिकल रिसर्च पोर्टल मोजेकमा प्रकाशित लेखमा पहिलो पटक यस्तो रगत सन् १९६१ मा पत्ता लागेको उल्लेख गरिएको छ । अस्ट्रेलियाको मूलवासी एक महिलामा यो भेटिएको थियो । त्यसपछि संसारभरमा यो रक्त समूह ४३ जनामा मात्र भेटिएको छ । 

नेसनल युनिभर्सिटी अफ कोलम्बियाका ह्यामेटोलोजी विशेषज्ञ नतालिया विलारोयाले बीबीसीसँग भनेकी छन्, ‘माता–पिता दुवै जना यस्तो म्युटेसनको बाहक हुनुपर्छ ।’ यस्तो रगत आनुवांशिक रुपमा मात्र पाइने उनको भनाइ छ ।

एकातर्फ यो युनिभर्सल ब्लड हो, जुन कुनै पनि आरएच टाइपका वा आरएच नभएका मानिसलाई पनि सहजै चढाउन सकिन्छ, अर्कोतर्फ यो रक्त समूह पाउनु लगभग दुर्लभ छ । यही दुर्लभताका कारण नै यसलाई ‘गोल्डेन ब्लड’ भनिएको हो । 

यो रक्त समूह युनिभर्सल भए पनि खतरापूर्ण पनि छ । यस्तो रक्त समूहका मानिसलाई एनिमिया हुन सक्छ । गोल्डेन ब्लडयुक्त मानिस ब्राजिल, कोलम्बिया, जापान, आयरल्यान्ड तथा अमेरिकामा रहेको पनि बताइन्छ ।