नारायण गोपालको नयाँ धुन फेला, ढकाललाई गीत गाउँन अनुमती

‘स्लो बिट’को हार्मोनियम धुनमा गुनगुनाइरहेको पुरुष स्वर छ । धुन र गुनगुन दुवैले नारायणगोपालको पना चिनाउँछ ।

स्वरसम्राट् नारायणगोपाल बितेको २८ वर्षपछि उनले रियाज गरिरहेको अडियो रेकर्ड भेटिएको छ । त्यही धुनमा शब्द, स्वर र वाद्यवादन भरेर पुनर्जीवन दिइने भएको छ । केही समयअघि फेला परेको उक्त संगीतमा विष्णुबाबु देवकोटाको शब्द, प्रदीप श्रेष्ठको एरेन्ज (वाद्यसंयोजन) र रामकृष्ण ढकालले स्वर दिनेछन् ।

नारायणगोपालका गीत संगीत र उनका अप्रकाशित सामग्रीको खोजी गर्दै आइरहेका नवराज लामाले उक्त धुन फेला पारेका हुन् । लामाका अनुसार भक्तपुरका एकजना साथीले गुनगुनसहितको संगीत रेकर्ड गरिएको क्यासेट उनलाई दिएका थिए ।

लामाले नै त्यसलाई एमपीथ्रीमा कन्भर्ट गरेर नयाँ गीत बनाउने योजना बनाएका हुन् ।नेपाल कला संस्कृति विकास केन्द्रका अध्यक्षसमेत रहेका लामाले उक्त धुन नारायणगोपालको जीवनको पछिल्लो सिर्जना हुन सक्ने अनुमान गरेका छन् । नारायणगोपाल संगीत कोषले गीत रेकर्ड गराउन अनुमति दिएको छ ।